संस्थापन पक्षधर काँग्रेस नेता भन्छन्- काँग्रेस फुट्दैन, विशेष महाधिवेशन पनि हुँदैन

काठमाडौँ । नेपाली काँग्रेसका नेताहरूले काँग्रेस एकताबद्ध भएर निर्वाचनमा जाने बताएका छन् ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माद्वारा आह्वान विशेष महाधिवेशनको समयताका काठमाडौँमा भेला भएका संस्थापन पक्षधर नेताहरूले यस्तो दाबी गरेका हुन् ।

उनीहरूले निर्वाचनको कार्यतालिका आइसकेकाले अहिले विशेष वा नियमित महाधिवेशनको समय नभएको बताए । नेपाली काँग्रेसका नेता शिव हुमागाईँले आम निर्वाचनको समय आइसकेकाले आन्तरिक समस्या समाधान गरेर अघि बढ्नु नै बुद्धिमानी हुने बताए ।

उनले नेपाली काँग्रेसमा देखिएको आन्तरिक समस्यालाई कसरी समाधान गर्न आफूहरू लागिपरेको र शनिवारसम्म निकास निस्किने दाबी गरे । उनले प्रक्रियागत रूपमा सबैसँग छलफल गरेर नयाँ रणनीतिका साथ काँग्रेस अघि बढ्ने बताए । महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाप्रति आफूहरूको कुनै भनाइ नरहेको तर महामन्त्री पदलाई सबैलाई विश्वासका साथ अघि बढ्ने भूमिका निर्वाह गर्नुपर्ने बताए ।

नेपाली राजनीतिमा कुनैपनि निर्णय राति अन्तिम क्षणमा टुङ्गिने गरेको भन्दै निर्वाचनको मुखमा नेपाली काँग्रेसलाई एकढिक्का बनाएर अघि बढाउन जरुरी रहेको बताए ।

उनले भने ‘निर्वाचनको सेड्युल अघि बढिसकेको छ । आम निर्वाचनको समय आइसकेको छ । यस्तो बेलामा नेपाली काँग्रेसमा देखिएको आन्तरिक समस्यालाई कसरी समाधान गर्ने भनेर हामी उपलब्ध मन मिल्नेले पार्टीलाई विभाजनको संघारमा पुर्याउनु हुँदैन । एकताबद्ध बनाउनुपर्छ भनेर लागेका छौँ । सबैलाई एक ढिक्का बनाएर लैजाने नयाँ उपायबारे छलफल गर्दैछौँ । निर्वाचनको मुखमा नेपाली काँग्रेसलाई एकढिक्का बनाएर अघि लैजाने काममा हामी लाग्छौँ । निर्वाचनको सेड्युल अघि आइसक्यो, यो बीचमा महाधिवेशन, विशेष महाधिवेशन हुने र फाइदा पु¥याउने अवस्था छैन । नेपाली राजनीतिमा कुनैपनि निर्णय राति अन्तिम क्षणमा टुंगिन्छ । नेपाली काँग्रेस पार्टी अहिलेको क्षणमा कुनैपनि हालतमा फुटको संघारमा जाँदैन । एकताबद्ध भएर चुनाव फेस गर्दछ ।’

अर्को नेता मदनकृष्ण श्रेष्ठले विशेष महाधिवेशनको हस्ताक्षरकर्ताहरूले नियमित महाधिवेशन समयमै गर्नुस् भनेर माग गरेकाले सोहीअनुसार निर्णय गरिएको बताए । उनले निर्वाचन अगाडि महाधिवेशन गर्न सक्ने अवस्था नरहेको बताए । दुई महिना ढिलाइ हुँदैमा आपत्ति जनाउनुपर्ने कारण नरहेको बताए । नेपाली काँग्रेस कुनैपनि हालतमा नफुट्ने र एकताबद्ध भएर जाने बताए ।

उनले भने ‘हामी नेपाली काँग्रेसको पक्षमा छौँ । विशेष र नियमित महाधिवेशनको पक्षमा बहस चलिरहेको छ । विशेष महाधिवेशनको हस्ताक्षरकर्ताहरूले नियमित महाधिवेशन समयमै गर्नुस् भनेर माग गर्नुभएको छ । नियमित महाधिवेशन भएन भने विशेष महाधिवेशनको माग गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यसम्पादनका बैठकमा धेरै कुरा भएका छन् । चुनाव अघि महाधिवेशन सम्भव नरहेकाले चुनाव पछि गर्नुपर्छ भन्ने माग धेरै सदस्यहरूको छ ।’

नेताहरूले नेपाली काँग्रेसको विधानमा एक वर्ष समय थप गर्न पाइने व्यवस्था रहेकाले वैशाखमा नियमित महाधिवेशन गर्नुलाई अवैधानिक भन्न नमिल्ने तर्क गरे । छिटो महाधिवेशन गर्न क्रियाशील सदस्यताको काम सम्पन्न गरेको भए पुसभित्रै महाधिवेशन सम्पन्न गर्न सकिने अवस्था रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − twelve =