रविसँग कुलमानको वान टु वान वार्ता, के भयो कुरा ?

काठमाडौँ । ऊर्जामन्त्री पदबाट राजीनामा दिएलगत्तै कुलमान घिसिङले राजनीतिक सक्रियता बढाएका छन् । राजीनामाको भोलिपल्टै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।
स्रोतका अनुसार कुलमान र रविबीच निवासमा वान टु वान छलफल भएको हो । कुलमान आफैँ रविको निवास पुगेका थिए । भेटमा मुख्यतः रास्वपा र उज्यालो नेपाल पार्टीबीचको समायोजन प्रक्रियाका विषयमा कुराकानी भएको बुझिएको छ ।
कुलमानले एकता प्रक्रिया सम्मानजनक हुनुपर्ने अडान राखेका छन् । उज्यालो नेपाल पार्टीको तर्फबाट केन्द्रीय समितिमा उचित हिस्सेदारी, समानुपातिक बन्दसूची संशोधन र प्रत्यक्षतर्फ उम्मेदवारीको प्याकेजमा सहमति खोजिएको स्रोतले जनाएको छ ।
पार्टी एकताको सहमतिपत्रमा हस्ताक्षर भइसके पनि रास्वपा र उज्यालो नेपालबीच धेरै विषय मिल्न बाँकी छन् । बालेन शाहको तर्फबाट २६ जना केन्द्रीय सदस्य मनोनयन भइसकेको अवस्थामा उज्यालो नेपालको तर्फबाट अझै समायोजन हुन बाँकी छ । कति केन्द्रीय सदस्य दिने भन्नेमै कुरा मिल्न नसकेको स्रोतको भनाइ छ ।
यसैगरी उज्यालो नेपालले समानुपातिक बन्दसूचीमा आफ्ना केही व्यक्तिलाई प्राथमिकतामा राख्नुपर्ने अडान लिएको छ । सहमतिपत्रमा कुलमानलाई उपसभापति बनाउने उल्लेख भए पनि उनी अहिलेसम्म रास्वपाको बैठकमा सहभागी भएका छैनन् । पार्टी समायोजन पूरा नभएसम्म बैठकमा नजाने उनको अडान रहेको बताइएको छ ।
मन्त्री पदबाट राजीनामा दिएपछि कुलमानले राजनीतिक भेटघाटलाई तीव्र पारेका छन् । हिजो मात्रै उनले आफ्नै निवासमा पार्टीका नेताहरूसँग आन्तरिक छलफल गरेका थिए ।









