अब निर्वाचनबाट भाग्ने छुट छैन: गृहमन्त्री

काठमाडौँ । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार निर्वाचन सुरक्षाका लागि जिम्मेवार रहेको बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले जेन–जीहरूलाई भड्काएर हिंसा सिर्जना गर्नेहरू पनि बिस्तारै निर्वाचनको पक्षमा आएको बताए । उनले दण्डहीनता गृह मन्त्रालयले सहन नसक्ने बताए । उनले मिस इन्फरमेसन, डिसइन्फरमेसन केही पनि गर्न सरकारले नदिने जिकिर गरे ।

निर्वाचन सुरक्षित, निष्पक्ष ढङ्गले हुने पनि बताए । मन्त्री अर्यालले निर्वाचन नै एक मात्र र सही विकल्प भएको बताए । आन्दोलनका क्रममा लुटिएका केही हतियारहरू बाहिर रहेको तर निर्वाचन नै रोकिने गरीकन हतियार बाहिर नरहेको बताए । वर्तमान सरकारलाई अन्तर्राष्ट्रिय समर्थन रहेको बताउँदै कुनै पनि हिसाबले अहिलेको सरकार निर्वाचन गराउन सक्षम रहेको बताए ।

निर्वाचनमा राज्यको लगानी धेरै भइसकेकाले अब फर्किने छुट नरहेको बताए । एक लाख भन्दा बढी निर्वाचन प्रहरीको भर्ना खुलाइएको बताए । निर्वाचन अब नरोकिने स्पष्ट पारे ।

उनले भने ‘निर्वाचनको सुरक्षाको विषयवस्तु छ । सरकार निर्वाचनको विषयवस्तुमा जिम्मेवार छ । जेनजी पुस्ता जिम्मेवार छ । जेनजी पुस्ताले अहिले निहुँ खोजेको देख्दिन मैले । कतिपयले ताली बजाउन, हिंसा भड्काउन, कता कता हिँड्न प्रोत्साहन दिनुभयो । ती तत्त्वहरू अहिले छन् र छैनन् नि । हो त्यो काम गृहमन्त्रालयले गरेको काम हो । दण्डहीनता गृह मन्त्रालयले रहन दिँदैन । जेनजीकै नाममा कोही जान्छ भने, हिंसा भड्काउन लाग्छ भने त्यो हुन दिँदैन । निर्वाचनकै सुरक्षाको लागि गरेको हो । मिस इन्फरमेसन, डिसइन्फरमेसन केही पनि गर्न पाइँदैन । साइबरको मुद्दा लाग्छ अहिले । दण्डहीनता हामीले स्वीकार गर्दैनौँ । केही मानक हामीले बनाइसकेका छौँ । निर्वाचनको सुरक्षाको लागि आफ्नो तयारी हुनुपर्छ । सुरक्षा सरकारको कर्तव्य हो, स्टेक होल्डरको पनि कर्तव्य हो । सुरक्षामा कुनै कमजोरी छैन । बाहिर अफवाह विभिन्न फैलिएका छन् । तर त्यो अन्तिम सत्य होइन । निर्वाचन सुरक्षित, निष्पक्ष ढङ्गले हुन्छ ।’

मन्त्री अर्यालले आफ्नो पहिलो प्राथमिकता देश र मानवता जोगाउनु रहेको बताए । आफू सही रहेको र नागरिकसँगै रहेको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nineteen =