वर्तमान व्यवस्था र संविधान यत्तिकै फाल्न सजिलो छैन: गृहमन्त्री अर्याल

काठमाडौँ । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान संविधान र व्यवस्था हट्दा देशको जीवनमा ठुलो समस्या आउने बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले व्यवस्था यत्तिकै फाल्ने र राख्ने सजिलो कुरा नभएको बताए । राष्ट्रको जीवन, लोकतान्त्रिक व्यवस्था र संविधान अन्योन्याश्रित रहेको बताए । गत भदौ २३ र २४ को जेन–जी प्रदर्शनपछि बिस्तारै स्थिति सुदृढीकरण भइरहेको बताए । आफू दण्डहिनताको पक्षमा नरहेको बताउँदै गम्भीर खालका विषयवस्तु छन् भने कारबाहीको दायरामा आउने बताए ।

अन्तरिम सरकारले निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गरेपछि स्थितिको सामान्यीकरण हुने बताए । जेन–जीको सम्झौतामा लेखिएको कुरा नै सही रोडम्याप भएकाले बाहिरबाट संविधान फाल्ने कुरा हुन नसक्ने बताए । आफू कुनै सत्ताको मोहले सरकारमा नगएको जिकिर गर्दै आवश्यक परे मर्नुपर्ने पहिलो व्यक्ति हुनका लागि जोखिम लिएर सरकारमा आएको जिकिर गरे ।

उनले भने ‘स्थिति सुदृढीकरण हुँदै गएको छ । मनोबल सुदृढ हुँदै गएको छ । २३ र २४ गतेको घटना भन्दा अघिको मनोबलसँग तुलना गरेर त हुँदैन, त्यहाँबाट यहाँसम्म आएको स्थितिमा पनि ठिकै भयो होला भन्नुस् न । बङ्गलादेशको हालत के हुँदैछ ? त्यस्तो त हामीले हुन दिएनौँ नि । साँच्चिकै प्रतिशोध लिएर हिरोजम देखाएको भए परिस्थिति अर्कै हुन्थ्यो । यो सबै कुरा दीर्घकालीन शान्तिको मार्गमा जानुपर्छ । यो राष्ट्र जोगाउनुपर्छ । त्यो बेला राष्ट्रको जीवन नै जोखिममा थियो । राष्ट्रिय सुरक्षा संकट आइसकेको थियो, औपचारिक रूपमा घोषणा नगरेको मात्रै हो । एकदिनमात्रै अघि बढेको भए धेरै कुरा अर्कै हुन्थ्यो । एक्लै परेको बेलामा मनोबल बढाइदिन आउनुपर्छ । राम्रो काम गर्दा साथ दिनुपर्छ । म नागरिक भएर पेसामै फर्किन्छु । म दण्डहिनताको पक्षमा छैन । गम्भीर खालका विषयवस्तु छन् भने कारबाहीको दायरामा आउँछन् । संविधानको व्यवस्थालाई पनि बहाली गर्नको लागि अहिले चुनाव अपरिहार्य हो । यो व्यवस्था, संविधान जाँदा देशको भविष्यमा ठुलो धक्का पर्दछ । यो कुरा ख्याल गरौँ । व्यवस्था यत्तिकै फाल्ने र राख्ने सजिलो कुरा होइन । राष्ट्रको जीवन र यो लोकतान्त्रिक व्यवस्था, यो संविधान अन्योन्याश्रित छ ।’

मन्त्री अर्यालले देश नै कालोसूचीमा रहने गरी कुनै अराजकता हुन नदिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 10 =