विशेष महाधिवेशनले कांग्रेस विभाजन हुँदैन, जुर्मुराएर उठ्छ : महामन्त्री शर्मा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी पुस २७ र २८ गतेका लागि आह्वान गरिएको विशेष महाधिवेशनले पार्टीलाई विभाजन नगर्ने बरु थप गतिशील र उर्जावान बनाउने दाबी गरेका छन् । पार्टीभित्र विशेष महाधिवेशनलाई लिएर संशय उत्पन्न भइरहेका बेला महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत एक विशेष भिडिओ सन्देश जारी गर्दै यस्तो स्पष्टोक्ति दिएका हुन् ।

महामन्त्री शर्माले विशेष महाधिवेशनबाट पार्टी फुट्ने हल्ला निराधार रहेको बताए । उनले भने, ‘विशेष महाधिवेशन हुन्छ, तर पार्टी विभाजित हुँदैन । यदि कसैले पार्टी फुटाउने प्रयास गर्छ वा त्यस्तो अवस्था आउँछ भने त्यो हलबाट सबैभन्दा पहिले बाहिरिने व्यक्ति विश्वप्रकाश शर्मा हुनेछ ।’

महामन्त्री शर्माले विशेष महाधिवेशनको वैधानिकताका बारेमा प्रश्न उठाउनेहरूलाई विधानको धारा १७ (२) स्मरण गराएका छन् । ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष कारण खुलाएर लिखित माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था रहेको उनले उल्लेख गरे । ‘यो मेरो वा गगन थापाको मात्र इच्छा होइन, यो त पार्टीका महाधिवेशन प्रतिनिधिहरूको अधिकार र विधानको रक्षाको विषय हो,’ उनले भने ।

मुलुकको पछिल्लो राजनीतिक अवस्था र जेनजी आन्दोलनपछिको सामाजिक परिवर्तनलाई सम्बोधन गर्न पुरानै कार्यशैली पर्याप्त नहुने शर्माको तर्क छ । उनका अनुसार बदलिएको समय र चुनौतीलाई सामना गर्न कांग्रेसले नयाँ दृष्टि, योजना र संकल्प लिनु अनिवार्य छ । ‘आजको नेपाल भदौ २३ अगाडिको जस्तो छैन, त्यसैले बदलिएको समय अनुकूलको कांग्रेस बनाउन विशेष महाधिवेशन आवश्यक छ,’ उनले थपे ।

आगामी फागुन २१ गते हुने निर्वाचनमा विशेष महाधिवेशनले नकारात्मक असर पार्ने आशंकालाई पनि शर्माले खण्डन गरेका छन् । उनले भने, ‘मुर्झाएर बसेको कांग्रेसभन्दा जुर्मुराएर मैदानमा उत्रिएको कांग्रेसले निर्वाचनमा झन् राम्रो परिणाम ल्याउनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 3 =