प्रधानमन्त्री कार्कीको ‘ग्रीन सिग्नल’पछि ओलीलाई पत्र काट्ने आयोगको अन्तिम तयारी

काठमाडौं । गत भदौ २३ र २४ गते भएका हिंसात्मक घटना र आगजनीको छानबिन गरिरहेको उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने अन्तिम तयारी गरेको छ । घटनाको सत्य-तथ्य पत्ता लगाउन पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले अनुसन्धानको अन्तिम कडीका रूपमा पूर्वप्रधानमन्त्री ओलीसँग सोधपुछ गर्न लागेको हो ।

बयान दिने विषयमा आयोगका पदाधिकारीहरूले बिहीबार सिंहदरबार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसँग विशेष परामर्श गरेका छन् । आयोगका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री कार्कीले संविधान र कानुनबमोजिम गठित आयोगलाई सहयोग गर्नु सबैको दायित्व भएको स्पष्ट पारेकी छन् । आयोगले ओलीले सहयोग नगरे वा बयान दिन अस्वीकार गरे के गर्ने भन्ने जिज्ञासा राखेको थियो । जवाफमा प्रधानमन्त्री कार्कीले कानुनी प्रक्रियाअनुसार अघि बढ्न सुझाउँदै भनिन्, ‘आयोगमा बयान दिन्नँ भन्न कसैले मिल्दैन । सरकारको पूर्ण सहयोग रहन्छ, आवश्यक परे गृहमन्त्री ओमप्रकाश अर्यालसँग समन्वय गर्नुहोला ।’

तर  तत्कालीन प्रधानमन्त्री ओलीले आयोगका अध्यक्ष कार्कीमाथि पूर्वाग्रहको आरोप लगाउँदै आएका छन् । ‘जेनजी’ ले नभई घुसपैठिया अराजक समूहले विध्वंस मच्चाएको दाबी गर्ने ओलीले आयोगलाई सहयोग नगर्ने संकेत यसअघि नै दिइसकेका छन् । तथापि, आयोगका अध्यक्ष कार्की भने ओली बयानमा आउनेमा विश्वस्त छन् । ‘हामी उहाँलाई छिट्टै पत्र काट्दैछौं । अहिलेसम्म बोलाइएका सबै विशिष्ट व्यक्तिहरू आउनुभएको छ, उहाँ पनि आउनुहुन्छ भन्ने विश्वास छ,’ कार्कीले भने

गत असोज ५ गते गठित आयोगले तीन महिनाको समयावधिमा काम नसकेपछि एक महिना म्याद थपिएको थियो । अब आयोगसँग प्रतिवेदन बुझाउन करिब तीन साता मात्र बाँकी छ । आयोगले यसअघि नै चरणबद्ध रूपमा व्यापक छानबिन गरिसकेको छ । पहिलो र दोस्रो चरणमा पीडित, प्रत्यक्षदर्शी र फिल्ड कमान्डरहरूसँग बयान लिएको आयोगले त्यसपछि सुरक्षा निकायका प्रमुखहरूसँग बयान लिएको थियो ।

प्रधानसेनापति अशोकराज सिग्देल, सशस्त्र र नेपाल प्रहरीका आईजीपी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको बयान सकिएपछि प्रशासनिक नेतृत्व (मुख्यसचिव, गृहसचिव र सीडीओ) को पालो आएको थियो । बुधबार मात्रै तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिएपछि आयोग अब राजनीतिक नेतृत्वको बयान लिने अन्तिम चरणमा प्रवेश गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 6 =