माइतीघरमा प्रदर्शनमा उत्रिएका ‘युवा’हरू प्रहरी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं । मुलुकमा सुशासन र सर्वपक्षीय सरकारको माग राख्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका ‘जेनजी’ समूहका युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘गरिखान देऊ’ अभियानका संयोजक मिराज ढुंगानाको नेतृत्वमा सडकमा ओर्लिएका युवाहरूले वर्तमान सरकारको विकल्प खोज्दै प्रदर्शन सुरु गर्नासाथ प्रहरीले हस्तक्षेप गरेको हो ।
निषेधित क्षेत्रमा प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न लागिएको भन्दै बाक्लो संख्यामा तैनाथ प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ । ‘प्रदर्शनमा सहभागी रविकिरण हमाल, निकोलस भुसाल लगायतका युवाहरूले हातमा ‘जेनजीको माग चुनाव होइन, सुशासन हो’ लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरूले हालको सुशीला कार्की नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यकालमा जनअपेक्षा अनुसार काम गर्न नसकेको र आन्दोलनको मर्मलाई आत्मसात् गर्न चुकेको आरोप लगाएका छन् ।
प्रदर्शनकारीहरूले तत्काल चुनावमा जानुभन्दा पहिले ‘सर्वपक्षीय सरकार’ गठन गरिनुपर्ने मुख्य बटमलाइन अघि सारेका छन् । उनीहरूले देशको विद्यमान शासकीय स्वरूपमै परिवर्तन आवश्यक रहेको औँल्याउँदै गोलमेच सम्मेलन वा संविधान परिमार्जन सभामार्फत संविधान पुनर्लेखनको माग समेत गरेका छन् ।
सोमबार बिहान ११ बजे प्रदर्शन हुने पूर्वसूचना पाएपछि जिल्ला प्रशासन कार्यालयले माइतीघर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको थियो । प्रहरीले सुरुमा माइकिङ गर्दै भीडलाई तितरबितर हुने आग्रह गरे पनि युवाहरूले नाराबाजी सुरु गरेपछि पक्राउ गरिएको हो ।
तस्बिरहरू :-









