हेटौँडा बजार क्षेत्रमा सडक विस्तार: शनिवार बिहानै डोजर चल्यो

काठमाडौँ । हेटौँडा बजार क्षेत्रको मुख्य सडक विस्तारका लागि सडक डिभिजन कार्यालय हेटौँडाले शनिवार बिहानैदेखि डोजर र जेसीबी प्रयोग गरेर सडक सीमाभित्र परेका संरचना भत्काउन सुरु गरेको छ ।
महेन्द्र राजमार्ग र त्रिभूवन राजपथको संगमस्थल हेटौँडा–१० स्थित राप्ती रोडमा बिहान ६ बजेदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो सुरक्षा घेरामा डोजर चल्न थालेको हो ।
सडकको दुवैतर्फ २५–२५ गज (करिब २२.८६ मिटर) क्षेत्र खाली गराउने लक्ष्यका साथ यो अभियान सुरु गरिएको छ । यो सडकको कानुनी चौडाई ५० मिटर ९२५–२५ गज दायाँबायाँ० हो ।
वर्षौँदेखि अतिक्रमण भएका कारण सडक साँघुरो बन्दै गएको थियो । अब क्रमशः हेटौँडा बजारको करिब ९.५ किलोमिटर क्षेत्रमा परेका पक्की, अर्धपक्की तथा अस्थायी संरचना हटाइनेछन् । शनिवार पहिलो दिन करिब ५०० मिटर क्षेत्रमा डोजर चलाइएको छ । यस क्रममा केही पसलका छाना, पर्खाल, बार, ग्यारेज तथा सडकमै बनाइएका अस्थायी संरचना भत्काइएका छन् ।
प्रभावित व्यवसायीहरूले भने अचानक भएको यो कारबाहीप्रति असन्तुष्टि जनाएका छन् । सडक डिभिजन कार्यालयकाअनुसार यो अभियान आगामी एक महिनासम्म निरन्तर चल्नेछ । हेटौँडा बजारको ट्राफिक जाम न्यूनीकरण गर्न र सडकलाई व्यवस्थित तथा सुरक्षित बनाउन यो कदम अनिवार्य भएको कार्यालयको भनाइ छ ।
यसअघि पनि पटक–पटक सूचना जारी गर्दा अतिक्रमण नहटेपछि बल प्रयोग गर्नुपरेको कार्यालयले जनाएको छ । सडक विस्तारपछि हेटौँडा–काठमाडौँ र हेटौँडा–वीरगञ्ज दुवै दिशाको यातायात सहज हुने अपेक्षा गरिएको छ । हाललाई मुख्य बजार क्षेत्रमा यातायात आवागमनमा केही असुविधा भएको छ भने वैकल्पिक रुटको प्रयोग गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।








