हरेक नागरिकले निर्भयताका साथ मतदान गर्नसक्ने वातावरण सिर्जना गर्छौंः प्रधानमन्त्री

काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले हरेक नागरिकले निर्भयताका साथ मतदान गर्नसक्ने वातावरण सिर्जना गर्ने बताएकी छन् ।
बुधवार सिंहदरबारमा राजनीतिक दलहरूसँग छलफल गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित बनाउन सुरक्षा सरकारको सुरक्षा उच्च प्राथमिकताको विषय भएको बताइन् । जोखिम व्यवस्थापनका लागि राजनीतिक विवाद चर्किएका वा सुरक्षाका रूपमा संवेदनशील जिल्लाहरूलाई हटस्पटमा राखेर सादा पोसाकका सुरक्षाकर्मी र गुप्तचर परिचालन गरिएको बताइन् ।
हिमाली जिल्लाको बन्दोबस्तलगायत सबै निर्वाचन व्यवस्थापनका समस्या अहिलेबाटै समाधान खोज्न आयोगसँग समन्वय गरिरहेको पनि बताइन् ।
उनले भने ‘निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन सुरक्षा सरकारको उच्च प्राथमिकता हो । जुनसुकै राजनीतिक विवाद वा अराजकतालाई नियन्त्रण गरी हरेक नागरिकले निर्भयताका साथ मतदान गर्नसक्ने वातावरण सिर्जना गरिनेछ । जोखिम व्यवस्थापनका लागि राजनीतिक विवाद चर्किएका वा सुरक्षाका रूपमा संवेदनशील जिल्लाहरूलाई हटस्पटमा राखेर सादा पोसाकका सुरक्षाकर्मी र गुप्तचरको परिचालन बढाइएको छ । हामी हिमाली जिल्लाको बन्दोबस्तलगायत सबै निर्वाचन व्यवस्थापनका समस्या अहिलेबाटै समाधान खोज्न आयोगसँग समन्वय गरिरहेका छौँ । अराजकता नियन्त्रणमा पनि हाम्रो ध्यान पुगेको छ । तरल र अनिश्चयपूर्ण वातावरणको फाइदा उठाउन भड्काउयुक्त क्रियाकलापमा लागेका समूह वा भागेका कैदी बन्दीहरूबाट हुनसक्ने कुनैपनि उपद्रवलाई कानुनी व्यवस्थाको विषय मानी अतिरिक्त सुरक्षा सतर्कता अपनाइएको छ। राजनीतिक हिंसा र टकराबलाई नियन्त्रण गर्न हामी सबै पक्षसँग ट्रयाक–टु वार्ता र संवादको पहल पनि गरिरहेका छौँ ।’
वर्तमान सरकार लोकतान्त्रिक निकासको लागि बनेको एक पुल भएको बताइन् ।








