जेनजी पुस्ता र माओवादी केन्द्रको धारणा साझा हुन्: अग्नि सापकोटा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता अग्निप्रसाद सापकोटाले जेनजी पुस्ता र आफ्नो पार्टीबीच साझा धारणा रहेको दाबी गरेका छन् ।

आइतबार पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले जेन–जीले उठाएका माग आफूहरूले यस अघि नै उठाएको माग भएको जिकिर गर्दै उनीहरूसँग आफ्नो पार्टीको सोच, विचार र धारणा समेत साझा रहेको बताएका हुन् ।

नेता सापकोटाले जेनजी पुस्ताको मागसँग आफूहरू सकारात्मक रहेको कुरा राष्ट्रपति, प्रधानमन्त्रीसँगको भेटमा पनि आफूहरूले गर्दै आएको स्मरण समेत गराए । उनले जेन–जी पुस्ताले उठाएको सबै माग जायज रहेको जिकिर समेत गरे ।

नेता सापकोटाले भने ‘हामी जेन–जीले उठाएका मागहरूमा सकारात्मक मात्रै होइन, ती त हामीले पहिलादेखि नै उठाएका मागहरू हुन् । र उनीहरूको हाम्रो धारणा समान छ, साझा छ । र अहिले त्यसका लागि नै हामीले कुराकानी गरिरहेका छौँ । चाहे प्रधानमन्त्रीले बोलाउँदा होस, चाहे राष्ट्रपतिले बोलाउँदाखेर होस् । जेनजीको र हाम्रो सोच, विचार र समान धारणा छ । त्यहाँ एकरूपता भइरहेको छ । यही कुरा म फेरी पनि स्पष्ट पार्न चाहन्छु ।’

नेता सापकोटाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने कुरालाई आफूहरूले सकारात्मक रूपमा लिएको टिप्पणी समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 7 =