काँग्रेस केन्द्रीय समिति बैठक: बहुसंख्यक सदस्यहरू नियमित महाधिवेशनको पक्षमा

काठमाडौँ । नेपाली काँग्रेसका अधिकांश केन्द्रीय सदस्यहरूले नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् ।

पार्टीभित्र नियमित महाधिवेशन वा विशेष महाधिवेशनका लागि रस्साकस्सी चलिरहेका बेला पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा बोल्ने सदस्यहरूले नियमित महाधिवेशनमा जानु नै उपयुक्त हुने धारणा राखेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले केन्द्रीय सदस्यहरूले देशको राजनीतिक संकट, आगामी निर्वाचनको सुरक्षा अवस्था र पार्टी महाधिवेशनका विषयमा धारणा राखेको बताए । उनका अनुसार केन्द्रीय सदस्यहरूले अगामी २१ फागुनमा तोकिएको निर्वाचनका लागि सरकारले सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् ।

गाउँमा शान्ति सुव्यवस्था कायम हुन नसकेको अवस्थामा निष्पक्ष, भयरहित र शान्तिपूर्ण ढंगले निर्वाचन हुनेमा आंशका रहेको उनको भनाइ छ । यद्धपी सरकारले निर्वाचनका लागि उचित वातावरण बनाएर चुनावका लागि सरकारलाई सघाउने धारणा समेत सदस्यहरूले राखेको प्रवक्ता महतले जानकारी दिए ।

उनले भने ‘बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिरहनुभएको छ । देशमा एउटा संकटको परिस्थिति छ । यो परिस्थितिभन्दा माथि कसरी उठ्ने भन्ने विषयमा चासो र चिन्ता प्रकट गरिरहनुभएको छ । त्यस्तै सरकारले प्रस्ताव गरेको निर्वाचनका सम्बन्धमा अझै पनि गाउँ गाउँमा सुरक्षाको प्रत्याभूति नभएको कारणले शान्तिपूर्ण र भयरहित ढंगले निर्वाचन गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा पनि साथीहरूले धारणा राख्नुभएको छ । निर्वाचनका लागि शान्ति सुरक्षाको प्रत्याभूत गर्ने कुरामा सरकारले विशेष ध्यान दिनुपर्छ भन्ने कुरा साथीहरूले राख्नुभएको छ । बैठकमा संसद पुनर्स्थापनाका कुराहरू पनि उठेका छन् । त्यसको सम्भावनाको बारेमा पनि साथीहरूले बोल्नुभएको छ । समग्रमा निर्वाचनको परिस्थिति बन्यो निर्वाचनमा जानुपर्छ भन्ने कुरा नै आएको छ । सँगसँगै पार्टीमा जुन महाधिवेशनको कुरा उठेको छ यसमा अधिकांश साथीहरूले नियमित महाधिवेशनमा जानुपर्ने र त्यसको लागि राष्ट्रिय निर्वाचनलाई अहिले प्राथमिकता दिनुपर्छ भन्ने कुरा गर्नुभएको छ । केही साथीहरूले चुनाव अगावै अधिवेशन गर्ने कुरा पनि गर्नुभएको छ । यी नै कुराहरू भएका छन् ।’

उनले बैठकमा संसद पुनःस्थापनाको विषय समेत उठान भएको बताए । केही केन्द्रीय सदस्यहरूले संसद पुनर्स्थापनाको सम्भावनाबारे समेत धारणा राखेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + seven =