ध्वस्त निजी निवासको अवलोकन गर्दै ओलीले भने– अन्तरिम सरकारको भूमिका समेत शङ्कास्पद

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी प्रदर्शनकारीहरूको आगजनी, तोडफोड र लुटपाटमा परी ध्वस्त बनाइएको बालकोटस्थित आफ्नो निजी निवासको अवलोकन गरेका छन् ।

बुधवार बिहान पत्नी राधिका शाक्यसहित अध्यक्ष ओलीले आवासको निरीक्षण गरेका हुन् ।

निजी निवास निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जेन–जी आन्दोलनको क्रममा भएको आगजनी तथा लुटपाटको घटना नेपालविरुद्धको योजनाबद्ध षड्यन्त्र भएको टिप्पणी गरे ।

उनले यो घटना असोज २३ गतेको मात्र नभई पहिलेदेखिको एमालेमाथिको योजनाबद्ध तार्गेटिङको परिणाम भएको दाबी पनि गरे । उनले आन्दोलनको क्रममा भएको आगजनी, लुटपाट र चोरीको घटनाप्रति गम्भीर शंका व्यक्त गर्दै पीडितमाथि सरकारले सहानुभूति व्यक्त गर्नुको सट्टा दुस्मनी साँधिरहेको आरोप पनि लगाए ।

उनले निवासबाट चोरिएका सामानहरूको विवरण दिँदै आश्चर्य व्यक्त गरे । उनले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि विद्यार्थीहरूले सुरु गरेको सकारात्मक अभियानको फाइदा उठाउँदै आपराधिक समूहहरूले फाइदा उठाएको जिकिर गरे । उनले जेन–जी आन्दोलनपछि गठन गरिएको अन्तरिम सरकारको भूमिका समेत शङ्कास्पद रहेको आरोप लगाए ।

उनले तोडफोड र आगजनीमा संलग्नलाई कारबाही गर्ने नभई पीडितहरूलाई नै दुःख दिने काम सरकारले गरिरहेको उनको आरोप छ ।

उनले भने ‘मैले धेरै कुरा बोल्नु पर्दैन। तस्बिर आफैँ बोल्छ । केही टनका फलामका मूर्ति समेत थिए । कसरी लगे भनेर आश्चर्य लागेको छ । शिव, सरस्वतीको मूर्ति चोरिएको छ । एक जनाले सक्दैन गाडीमै चोरी भएको छ । उनीहरूले काम लाग्ने कुरा चोरेर लगे काम नलाग्ने कुरामा आगजनी गरेर गए । नभए त मेटलको सामान पग्लिएर बस्नुपर्ने हो । केही अघिदेखि नै यहाँ तार्गेट गर्ने गरेका थिए । केही आपराधिक समूहहरू समय समयमा आउने गरेका थिए । यहाँ मात्र होइन सबैतिर एमाले पार्टी कार्यालय र नेताका घरहरू जलाइएको छ । यो २३ गतेको घटना मात्र होइन पहिलेदेखि नै एमालेमाथि तार्गेट गरिएको थियो । यसअघि चैत १५ मा पनि प्रयास गरिएको थियो । त्यो बेला सफल भएन । यस पटक उनीहरू सफल हुने स्थिति बन्यो । यो नेपालका विरुद्ध गम्भीर षड्यन्त्र हो । शान्ति क्षेत्र भनिएका विद्यालय जलाइए । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम होस् भनेर विद्यार्थीहरू मैदानमा उत्रिए । उनीहरूलाई प्रयोग गरेर योजनाबद्ध ढंगले विध्वंस पारियो । लुटपाट गर्नेहरू विदेशका नभई यतै कतैका थिए । उनीहरू कालान्तरसम्म पक्राउ होलान् । अहिले पक्राउ गर्न सरकार तयार छैन । सरकार भ्रष्टाचार नियन्त्रणमा छैन । सरकारको मनसाय के छ भन्ने कुरा गृहमन्त्रीले हिजो एक अन्तरवार्तामा बोलेको कुरामा देखिन्छ । दुःख परेकामाथि उहाँको दुस्मनी देखिन्छ । त्यसमा पनि मसँग गम्भीर दुस्मनी छ । सरकारले अझै केही गरिरहेको भन्ने गम्भीर आशंका छ ।’

उनले पत्नी शाक्यले तीन दशकबढी बैंकमा काम गरेर आर्जन गरेको सम्पत्तिबाट बनाइएको उक्त घरलाई राष्ट्रको नाममा दिइसकिएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + three =