निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिर्वतन गर्न आवश्यक छ : चन्द्र ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन आवश्यक रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिलाई आज महासङ्घमा स्वागत गर्दै उनले निजी क्षेत्र सबैभन्दा ठूलो रोजगारदाता भए पनि हरेक आन्दोलनमा निशानामा पर्नु गम्भीर विषय भएको बताए ।

अध्यक्ष ढकालले आन्दोलनका क्रममा निजी क्षेत्रमाथि आक्रमण हुनुले यसको महत्त्व बुझ्न नसकिएको हो कि भन्ने अनुभूति भएको उल्लेख गर्दै सकारात्मक दृष्टिकोण निर्माणमा सहयोग गर्न सञ्चार क्षेत्रलाई आग्रह गरे ।

‘निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो । यस क्षेत्रले अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान गरिरहेको छ । तथापि, यो क्षेत्र सबैको निशानामा पर्ने गरेको छ’, उनले भने ‘जेनजी आन्दोलनका क्रममा पनि त्यस्तै भयो । देशभरि निजी क्षेत्रमा भएका तोडफोड र आगजनीले हालसम्म उपलब्ध तथ्याङ्क र सूचनाअनुसार करिब रु ८० अर्ब बराबर क्षति भएको प्रारम्भिक आकलन छ । यो निकै दुःखद् हो ।’

महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले पछिल्लो घटनाले उद्योगी व्यवसायीमा असुरक्षाको भावना पैदा भएको उल्लेख गर्दै उद्योगी व्यवसायी तथा आमनागरिकको मनोबल उच्च राख्ने गरी शान्ति सुव्यवस्था कायम गर्नुपर्ने बताए ।

महासङ्घका उपाध्यक्ष हेमराज ढकालले अर्थतन्त्र पुनःस्थापना र सुशासन कायम गर्न निजी क्षेत्र र सरकारबीच निरन्तर संवादका लागि संयन्त्र निर्माण गर्न, व्यवसायीलाई आत्मविश्वासका साथ खुला रूपमा व्यवसाय गर्नसक्ने वातावरण सुनिश्चित गर्न आवश्यक रहेको धारणा राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 8 =