एमाले–कांग्रेस सरकारको बर्खास्ती र ताजा जनादेशमा जान रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले जेनजी पुस्ताको आन्दोलनमा सरकारकाले गरेको दमनको कडा कडा शब्दमा भत्र्सना गरेको छ ।
देशमा व्याप्त भ्रष्टाचार, कानूनी शासनको अवहेलना, क्रुर राजनीतिक अभ्यास तथा अभिव्यक्ति स्वतन्त्रताको गम्भीर हनन्को विरोधमा आज भएको आन्दोलनमा सरकारले गरेको बर्बर दमनको भर्तसना गरेको हो ।
पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीले एक विज्ञप्ति जारी गर्दै सरकारले आन्दोलनको पहिलो प्रहरमै निहत्था नवयुवाहरू माथि हिंसा प्रयोग गरेर आमहत्याको ढोका खोलेको भन्दै घटनाको घोर निन्दा गरेका छन् ।
‘आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यो आततायी शासनको बिरुद्ध जनप्रतिवाद हुने निश्चित छ ।’
रास्वपाले सरकारको नैतिक, राजनीतिक र संवैधानिक औचित्य समाप्त भइसकेको ठहर गर्दै प्रधानमन्त्रीको तत्काल राजीनामाको माग गरेको छ । साथै, घटनाको निश्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरिनुपर्ने र गृहमन्त्रीसहित दोषीहरूमाथि कडा कारबाही हुनुपर्ने माग पनि गरिएको छ ।
विज्ञप्तिमा सत्तारूढ नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा एमालेको वर्चस्व रहेको संघीय संसदले कुनै पनि राष्ट्रिय समस्या समाधान गर्न नसकेको भन्दै यसको वैधता समाप्त भएको दाबी गरिएको छ । पार्टीले ताजा जनादेशमार्फत मुलुकलाई नयाँ राजनीतिक मार्गचित्रतर्फ डोहोर्याउनुपर्ने निष्कर्षमा आफूहरू पुगेको जनाएको छ ।
सरकारी कारबाहीमा ज्यान गुमाएका ‘जेनजी योद्धाहरू’ प्रति श्रद्धाञ्जली अर्पण गर्दै रास्वपाले घाइतेहरूको निःशुल्क उपचारको माग गरेको छ ।








