एमाले विधान महाधिवेशनमा समूहगत छलफल सकियो

काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशनमा समूहगत छलफल सकिएको छ ।

ललितपुरको गोदावरीस्थित सनराईज हलमा दोस्रो दिन शनिवार जारी बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव र पार्टी महासचिव शंकर पोखरेलको सङ्गठनात्मक प्रतिवेदनमाथि १० वटा समूहको सामूहिक छलफल सकिएको हो ।

छलफलमा अधिकांश नेताहरू पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी दलीय राजनीतिमा ल्याउन नहुने कुरामा जोड दिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । त्यसैगरी छलफलमा ७० वर्षे उमेर हदको विषयमा गलत भएको निष्कर्ष निकाल्दै सो प्रावधान हटाउने कुरामा पनि सबैले सहमति जनाएको उनको दाबी थियो ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने ‘पार्टी अध्यक्षबाट प्रस्तुत राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्षबाट प्रस्तुत विधान संशोधन सम्बन्धी प्रस्ताव र पार्टी महासचिवबाट प्रस्तुत गरिएको सङ्गठनात्मक प्रस्ताव र विभिन्न आयोगहरूबाट प्रस्ताव भएका प्रतिवेदन र तिनीहरूको सुझावको आधारमा सिङ्गो हललाई विभाजन गरेर १० वटा समूह विभाजन गरेका थियौँ । र, अहिले सबै समूहको छलफलको प्रक्रिया सकिएको छ । सबै दस्ताबेजमाथि खुलेर जनवादी वातावरणमा लेखेर र बोलेर सुझावहरू दिनु भएको छ । सुझावहरू मूलतः प्रस्तुत गरिएका प्रतिवेदनहरूको हार्दिक स्वागत गर्दै सुझावहरू आएका छन् । अब ७० वर्षे उमेरहदका कुरा हिजो लगाउँदा पनि अध्ययन नगरी लगाइएको रहेछ । त्यसलाई हटाउनु पर्छ । र, नेतृत्वलाई उमेरको सीमा लगाएर बाँध्नु हुँदैन भन्ने मत नै अधिकांश ठाउँबाट आएका छन् । पार्टीभित्र दुई सदस्यताको कुरा छ । त्यसलाई सदर गरेको छ । मूलतः कुराहरू सदर भएका छन् । अर्को पूर्वराष्ट्रपति, उपराष्ट्रपति र संवैधानिक अंगका प्रमुखहरूलाई राजनीतिमा ल्याउनु हुन्न भन्ने अधिकांश समूहमा कुरा उठेको छ । सशक्त ढंगले यी कुरा उठेका छन् । अब त्यो प्रतिवेदन प्रस्तुत हुने कुरा बाँकी छ । र भोली समूहगत प्रस्तुति बिहान ८ बजेबाट सुरु हुनेगरी व्यवस्था मिलाइएको छ ।’

एमालेले आइतबार बिहान ८ बजेबाट समूहगत छलफलबाट आएका निष्कर्षहरू प्रस्तुत गर्ने कार्यसूची तय गरेको छ । छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै सो महाधिवेशन सम्पन्नहुने पनि प्रचार विभाग प्रमुख गौतमले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + sixteen =