एमाले विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूमाथि छलफल सुरु

काठमाडौँ । एमालेको जारी विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि छलफल सुरु भएको छ ।
ललितपुरको गोदावरीमा जारी पार्टीका विधान महाधिवेशनको दोस्रो दिन शनिवार अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको सांगठानिक प्रस्तावमाथि छलफल भइरहेको हो ।
१० वटा समूह बनाएर सो छलफल प्रारम्भ भएको पनि पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनले भने ‘आजको बन्दसत्रमा पार्टीका केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा। विजय सुब्बाले आयोगको काम कारबाही सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो । त्यसपछि केन्द्रीय लेखा परीक्षण आयोगका तर्फबाट डा। पुष्प कँडेलले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभयो । र त्यसपछि केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडालले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभयो । अनि सिङ्गो हललाई १० वटा समूहमा विभाजित गर्यौँ । ७ वटा प्रदेश र गैर भूगोलमा ३ प्रदेशसहितको समूह छुट्टाइएको छ । त्यसमा उपत्यका विशेष प्रदेश, जन संगठन र सम्पर्क समन्वय र प्रवासको एउटा समूह, केन्द्रीय निकायका प्रतिनिधिहरू, केन्द्रीय कार्यालय र विभाग समेत अर्को समूह बनाइएको छ । र अर्को दसौँ समूहमा केन्द्रीय निकाय र आयोजक मात्र रहने गरी जम्मा १० वटा समूह बनाइएको । अहिले ती समूहरतमा छलफल प्रारम्भ भएको छ ।’
यसअघि पार्टीका निर्वाचन आयोगका अध्यक्ष डा। विजय सुब्बा, केन्द्रीय लेखा परीक्षण आयोगका अध्यक्ष डा। पुष्प कँडेल र अनुशासन आयोगका अध्यक्ष केशव बडालले आफ्नो आफ्नो आयोगको प्रतिवेदन प्रस्तुत गरेका थिए ।








