प्रभाकरसँग किन डराए प्रचण्ड ?

काठमाडौं । नेपालको राजनीतिमा सधैं चर्चाको शिखरमा रहने नेकपा माओवादी केन्द्र यतिबेला आन्तरिक किचलोले थिलथिलो बनेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ बीचको शक्तिसंघर्षले भयावह रुप लिएको छ हो ।
उपमहासचिव शर्माले अध्यक्ष प्रचण्डको नेतृत्वमाथि निरन्तर प्रश्न उठाउँदै नेतृत्व हस्तान्तरणको सशक्त माग गरिरहँदा, प्रचण्ड भने आफ्ना आलोचकलाई पाखा लगाउने रणनीतिमा जुटेका छन् । यो विवादले गर्दा दुई नेताबीचको सम्बन्ध यति तिक्त भएको छ कि सार्वजनिक मञ्चबाटै एकअर्काको आलोचना गर्ने र आरोप-प्रत्यारोपमा उत्रने क्रमले तीव्रता पाएको छ ।
हालै सम्पन्न स्थायी कमिटी बैठकमा यो अन्तरसंघर्षले ठूलो स्थान पायो । बैठकले नेतृत्वको आलोचना गरेकोमा शर्मालाई आत्मालोचना गर्न सुझाए पनि उनी त्यसका लागि तयार भएनन् । उल्टो, प्रचण्डले नै पहिले आत्मालोचना गर्नुपर्ने अडान राखे । बैठकले पार्टीभित्रका विवाद बाहिर नल्याउने निर्णय गरे पनि, त्यसपछि जारी सर्कुलरमा जनार्दन शर्माले आत्मालोचना गर्न अटेर गरेको र नेतृत्वविरुद्ध निराधार आरोप लगाएको भन्दै कडा आलोचनासहित भविष्यमा त्यस्ता अभिव्यक्ति नदिन निर्देशन दिएको कुरा उल्लेख छ । यसले प्रचण्ड र शर्माबीचको दूरी झनै बढाएको छ ।
शर्माको अडान
उपमहासचिव शर्माले भने नेतृत्वको आलोचना गर्न छाडेका छैनन् । पार्टीलाई नीतिगत रूपमा परिस्कृत गर्न खोज्दा र रूपान्तरणको कुरा गर्दा नेतृत्वले आफूलाई पेल्दै आएको उनको गुनासो छ । शर्माका अनुसार, पार्टीलाई अहिलेको आवश्यकताअनुसार अगाडि बढाउन खोज्दा नेतृत्वले उल्टो पार्टी फुटाउन खोजेको आरोप लगाउँदै हल्ला फैलाएको छ । उनले पार्टीमा आन्तरिक लोकतन्त्रको अभाव, जयजयकार गर्ने प्रवृत्ति र असन्तुष्टि सम्बोधन गर्नुको साटो आलोचकलाई सिध्याउने नेतृत्वको शैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे ।
प्रचण्डको चुनौती- ‘प्रभाकरले नपत्याउँदैमा आन्दोलन रोकिन्न’
अध्यक्ष प्रचण्डले भने शर्माका भनाइलाई खासै महत्त्व दिएका छैनन् । बिहीबार विराटनगरमा आयोजित एक कार्यक्रममा प्रचण्डले जनार्दन शर्माले नपत्याउँदैमा माओवादीको इतिहास र आन्दोलन नरोकिने टिप्पणी गरे । शर्माले केही दिनअघि प्रचण्डलाई लक्षित गर्दै ‘शेषनागले पृथ्वी थाम्ने कुरा किम्वदन्ती हो’ भनी टिप्पणी गरेका थिए । सोही प्रसंगमा प्रचण्डले ‘नागले पृथ्वी थामेको छ भन्ने कुरा पुरानो भएको’ बताउँदै पार्टीभित्र स्वार्थ समूह रहेको र त्यसको पहिचान भइसकेको जिकिर गरे । उनले भने, ‘पार्टीको विधि र पद्धति र लिडरसिपभन्दा स्वार्थमा केन्द्रित भएर मिटिङ बैठक गर्ने नै स्वार्थ समूह हुन् । प्रभाकरले ९जनार्दन शर्मा० नपत्याएर माओवादी इतिहास र आन्दोलन रोकिँदैन ।’
जनार्दनको अर्को झटारो
उपमहासचिव शर्माले पनि अध्यक्ष प्रचण्डमाथि निरन्तर प्रहार गरिररहेका छन् । गठबन्धन फेर्ने प्रचण्डको नीतिका कारण सरकारको नेतृत्व गर्ने अवसर गुमेको भन्दै शर्माले कटाक्ष गरे । ‘चुनावपछि सरकारको नेतृत्व गर्ने अवसर पाएको पनि थियो । केही कामको थालनी पनि भएको थियो । तर, आफ्नै बुद्धिले, के गर्छस् मंगले आफ्नै ढंगले ? भन्याजस्तो गठबन्धन फेर्ने अभियानमा लाग्नुको कारणले आज यस्तो ठाउँमा पुग्यो ।’ उनले पार्टीभित्र आन्तरिक लोकतन्त्र स्थापना गर्न नसक्दा नै आजको समस्या आएको तर्क गरेका हुन् ।
यो चर्को अन्तरसंघर्षको समाधान अब बस्ने पदाधिकारी बैठकबाट खोजिने भएको छ। अध्यक्ष प्रचण्डको कार्यशैलीप्रति असन्तुष्ट नेता कार्यकर्तासँग पदाधिकारी बैठकमा छलफल गरी सुल्झाउने तयारी भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ। उपमहासचिव जनार्दन शर्माले पनि पदाधिकारी बैठकमा आफ्ना असन्तुष्टि राख्ने र छलफलबाटै समाधान खोज्ने तयारी गरेको उनका स्वकीय सचिव तिलक परियारले जानकारी दिए । यद्यपि प्रचण्ड र शर्माबीच ठूलो विवाद नरहेको परियारको दाबी छ ।








