पर्यटकीय नगरी पोखरामा बीवाईडीको अत्याधुनिक शोरुम, नयाँ इलेक्ट्रिक गाडी ‘सिलायन ७’ सार्वजनिक

पोखरा । विद्युतीय सवारी साधन (ईभी) को विश्वव्यापी ब्राण्ड बीवाईडीले पर्यटकीय सहर पोखरामा आफ्नो उपस्थितिलाई एक नयाँ उचाइमा पुर्‍याएको छ । नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रा. लि. ले बुद्धचोकमा अत्याधुनिक थ्रीएस (सेल्स, सर्भिस र स्पेयर) सुविधासहितको भव्य शोरुम औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो ।

सोही विशेष समारोहमा गण्डकी प्रदेशका लागि बीवाईडीको नवीनतम इलेक्ट्रिक गाडी ‘बीवाईडी सिलायन ७’ पनि सार्वजनिक गरिएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहमा अटोमोबाइल क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, व्यवसायी, सञ्चारकर्मी र बीवाईडीका उत्साही प्रशंसकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

बीवाईडीको नवीनतम कर्पोरेट तथा भिजुअल पहिचान (CI/VI) मापदण्डअनुसार डिजाइन गरिएको यो नयाँ शोरुम करिब १२,८४५ वर्ग फिटको फराकिलो क्षेत्रफलमा फैलिएको छ । यसले ग्राहकहरूलाई गाडी खरिद, उत्कृष्ट सर्भिसिङ र आवश्यक स्पेयर पार्ट्सका लागि अन्यत्र धाउन नपर्ने गरी एकै स्थानबाट एकीकृत सेवा प्रदान गर्नेछ। शोरुमको ठीक पछाडि निर्माणाधीन अत्याधुनिक सर्भिस सेन्टरले बिक्रीपछिको सेवालाई थप प्रभावकारी र विश्वस्तरीय बनाउने कम्पनीले विश्वास लिएको छ ।

कार्यक्रममा बोल्दै साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले पोखरालाई कम्पनीको दीर्घकालीन व्यापार नीतिको एक प्रमुख बजारको रूपमा लिएको बताए । उनले भने, ‘पोखरामा यो अत्याधुनिक शोरुम र प्रिमियम उत्पादनको सुरुवातसँगै हामी हाम्रा ग्राहकहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्ने प्रतिबद्धता पुनः व्यक्त गर्दछौँ । नयाँ ‘बीवाईडी सिलायन ७’ ले हाम्रो अत्याधुनिक प्रविधि मात्र नभई नेपाललाई दिगो यातायाततर्फ लैजाने हाम्रो लक्ष्यलाई समेत प्रतिनिधित्व गर्दछ ।’

कम्पनीका अनुसार पोखरामा कार्यरत सम्पूर्ण प्राविधिक तथा सेवाकर्मीहरूले बीवाईडीको केन्द्रीय कार्यालयका प्रतिनिधिहरूबाट विशेष तालिम प्राप्त गरी आधिकारिक प्रमाणपत्र हासिल गरिसकेका छन्, जसले ग्राहकहरूलाई खरिददेखि बिक्रीपछिको सेवाका हरेक चरणमा उच्चस्तरीय सेवाको सुनिश्चितता प्रदान गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + fourteen =