कांग्रेस शान्ति प्रक्रियाको नायक पार्टी हो : स्वास्थ्यमन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका नेता एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शान्ति प्रक्रियाको नायक कांग्रेस रहेको बताएका छन् ।
कांग्रेस तनहुँले सहिद कल्याण खनालको २३ औँ स्मृति दिवसका अवसरमा आज भिमाद नगरपालिका–६ मा आयोजना गरेको स्मृति सभामा उनले विगतदेखि नै विद्रोही समूहलाई शान्ति प्रक्रियामा ल्याउन कांग्रेसले प्रमुख भूमिका निर्वाह गरेको उल्लेख गरे ।
मन्त्री पौडेलले भने ‘कांग्रेसले हिंसालाई स्वीकार गर्दैन । त्यसैले हामीमाथि नै आक्रमण गर्नेसँग मिलेर शान्ति ल्याउने कोसिस गरेका थियौँ, तर आज पनि उही प्रश्न अनुत्तरित छ कल्याण खनालहरू किन मारिएका थिए ?’
लोकतन्त्रका लागि तनहुँबाट धेरै जना सहिद भएको स्मरण गर्दै पौडेलले कांग्रेसमा लागेकै कारण अकालमा ज्यान गुमाउनुपरेको र ज्यान लिनेले पनि त्यसको जवाफ दिन नसकेको चर्चा गरे ।
कांग्रेसले कल्पना गरेको वास्तविक सदस्य स्व खनाल भएको भन्दै उनले पार्टीमा उनिजस्तै सदस्य हुनुपर्ने बताए । पार्टी केन्द्रीय सदस्य पौडेलले भने ‘खनाल संस्कार भएको, व्यवहार गर्न जानेको व्यक्ति हुनुहुन्थ्यो । उहाँको त्याग र सङ्घर्षलाई हामी सबैले अवलम्बन गर्नुपर्छ ।’
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी, तनहुँ क्षेत्र नं २ का सभापति चूडामणि खनाल, प्रदेश २ (१) का सभापति जितराज राना, सहिद खनालका धर्मपत्नी इन्दिरा खनाललगायतले स्व खनालको योगदानबारे चर्चा गरेका थिए ।
सहिद कल्याण खनाल स्मृति प्रतिष्ठानले भीमाद नगरपालिका–७ प्रहरीचौकी नजिक सहिद खनालको अर्धकदको सालिक निर्माण गरेको छ । प्रतिष्ठानका अध्यक्ष रमेशचन्द्र सुवेदीले यस ठाउँलाई सहिद उद्यानको रूपमा विकास गरिने जानकारी दिए ।
मन्त्री पौडेलद्वारा जिपी कोइराला अस्पतालको निरीक्षण
मन्त्री पौडेलले आजै तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको निरीक्षण गरेका छन् । त्यस अवसरमा उनले अस्पतालका बोर्ड सदस्य, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीसँग भेटघाट, छलफल गरी गुनासो सुनेका थिए ।
मन्त्री पौडेलले अस्पताललाई विशिष्टीकृत अस्पताल बनाउने प्रक्रिया सुरु गरिसकिएको भन्दै सो योजना सम्पन्न भए नेपाल बाहिरबाट पनि उपचारका लागि आउनेहरू बढ्ने विश्वास व्यक्त गरे ।
उनिसँगै प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीलगायत पनि अवलोकनमा उपस्थिति थिए ।
सरकारले पूर्वप्रधानमन्त्री स्व गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।
दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रुपमा स्थापना गर्ने लक्ष्यअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा ७४० रोपनी जग्गा उपचार केन्द्रको नाममा प्रदान भइसकेको छ ।








