प्रचण्ड-जनार्दन विवादको छायामा माओवादी स्थायी समिति, आजबाट शीर्ष नेताको धारणा लिइने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठकमा आजदेखि नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले राखेको प्रस्तावमाथि आ आफ्नो धारणा राख्नेछन् । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने बैठकमा सदस्यहरूले आ-आफ्ना धारणा राख्ने तय भएको हो ।

शुक्रबार सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले पार्टीका समसामयिक विषय, सरकारको कामकारबाही र आन्तरिक विवादबारे आफ्नो प्रस्ताव पेस गरेका थिए। सोही प्रस्तावमाथि केन्द्रित रहेर छलफल गर्न प्रत्येक सदस्यलाई १० देखि १५ मिनेटको समय छुट्याइएको पार्टी उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए । ‘छलफल र बहसको गहनताले बैठकको समयावधि निर्धारण गर्नेछ, यसका लागि कुनै निश्चित दिन तोकिएको छैन,’ उनले भने ।

पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबीचको टकरावले पार्टीभित्र तरंग पैदा गरेको छ । यही तनावपूर्ण परिस्थितिका बीच सुरु भएको स्थायी समिति बैठकले कसरी निकास देला भन्नेमा सबैको ध्यान केन्द्रित छ । यद्यपि, पार्टी नेतृत्वले तत्कालै कुनै पक्षलाई स्पष्टीकरण सोध्ने वा कारबाहीको प्रक्रिया अघि बढाउनेभन्दा पनि सबै सदस्यका विचार र मतलाई सुनेर मात्रै एउटा ठोस निष्कर्ष निकाल्ने रणनीति लिएको देखिन्छ ।

उपमहासचिव गजुरेलले भने, ‘अहिले नै कसैलाई स्पष्टीकरण सोध्ने वा अन्तरविरोधको हल निकाल्ने भन्दा पनि सबैको विचार र मत सुनिसकेपछि मात्र के गर्ने भनेर एउटा निष्कर्षमा पुग्न सकिन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 4 =