रास्वपा लक्षित सूर्य थापाको टिप्पणीः आदेशलाई हस्ताक्षरले बदल्न सकिँदैन

काठमाडौं । नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले कारागारमा रहेका एक व्यक्तिको नाममा याचनापत्र तयार गरी अहिले नाटकीय शैलीमा हस्ताक्षर संकलन अभियान चलाइएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद थापाले २०८२ असार ७ गते भैरहवा कारागारमा पूर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिको नाममा तयार गरिएको १५ पृष्ठ लामो याचनापत्रको आधारमा हस्ताक्षर संकलन अभियान सञ्चालन भइरहेको बताए ।

उनले उक्त याचनापत्रलाई राजनीतिक प्रचार र प्रोपोगाण्डाको संज्ञा दिँदै अदालतको आदेशलाई जनमतको दबाब वा हस्ताक्षरले परिवर्तन गर्न नसकिने प्रष्ट पारे ।

‘एउटा नाटकीय हस्ताक्षर अभियान जारी छ,’ थापाले भने, ‘त्यो याचनापत्रसहित अहिले हस्ताक्षर अभियान चलाइएको छ । अदालतमा आधा दर्जनभन्दा बढी मुद्दा चलिरहेको व्यक्तिका पक्षमा हस्ताक्षर संकलन गर्नु भनेको प्रतिशोधको नाममा राजनीति गर्नु हो ।’

सांसद थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेतर्फ संकेत गर्दै अदालतको निर्णयलाई प्रभावमा पार्ने कोसिस भइरहेको आरोप लगाए ।

उनले थपे, ‘अदालतले हस्ताक्षरको संख्या हेरेर होइन, रिट निवेदनका साथ संलग्न प्रमाण, बहस र कानुनी आधारमा मात्र निर्णय गर्छ । अदालतको आदेशलाई कुनै हस्ताक्षरले बदल्न सक्दैन भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।’

थापाले ‘जनताले जान्नेलाई छान्ने भनेर पठाएका सांसद’हरुको उपस्थितिमा अदालतको आदेश विपरीत गतिविधि भइरहेको भन्दै गम्भीर चिन्ता पनि व्यक्त गरे ।

उनले यस्ता कार्यले न्यायालयप्रतिको विश्वासलाई कमजोर पार्न सक्ने चेतावनी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 18 =