धनगढीमा ‘क्रेटा ईभी’ सार्वजनिक, ग्राहकको उत्साहजनक सहभागिता

धनगढी । हुन्डाई नेपालले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी ‘क्रेटा ईभी’ लाई भव्य कार्यक्रमका बीच सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीमा सार्वजनिक गरेको छ । स्थानीय डिलर दिनेश फोर ह्विल्ससँगको आयोजनामा भएको कार्यक्रममा ग्राहकहरूको उल्लेख्य सहभागिता र उत्साह देखिएकाे थियो ।
विद्युतीय गाडी खरिदमा ग्राहकका शंकाहरूलाई सम्बोधन गर्दै कम्पनीले क्रेटा ईभी खरिदकर्तालाई बिक्रीपछिको सेवामा ढुक्क हुन आग्रह गरेको छ। नेपालमै एसेम्बल हुने क्रेटा पेट्रोल र नयाँ क्रेटा ईभीको प्लेटफर्म एउटै भएकाले स्पेयर पार्ट्स वा मर्मतसम्भारमा कुनै कठिनाइ नहुने कम्पनीको दाबी छ।
कार्यक्रममा बोल्दै कम्पनीका प्रतिनिधिहरूले भने, “हामी गाडी मात्र बेच्दैनौं, बिक्रीपछिको बलियो सपोर्ट सिस्टम पनि निर्माण गर्छौं।” कम्पनीले आफ्नो ‘RE-Lax’ चार्जिङ सञ्जाललाई देशैभर विस्तार गरिरहेको र हालसम्म ६६ वटा चार्जर जडान भइसकेको जानकारी दिएको छ।
कम्पनीको उच्च व्यवस्थापन टोलीले देशभरका डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरी यो सन्देश प्रवाह गरिरहेको र सोही अभियानअन्तर्गत धनगढीमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सहभागीहरूले हुन्डाईका गाडीहरू र विशेषगरी क्रेटा ईभीबारे विस्तृत जानकारी लिएका थिए । आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै सफा र स्मार्ट भविष्य निर्माणमा हुन्डाईको प्रतिबद्धता दोहोऱ्याएको छ ।








