पुराना दलहरूले देश र जनतालाई व्यवस्थित गर्न नसक्दा नकारात्मक शक्ति सल्बलाए : अशोक राई

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले पुराना राजनीतिक दलहरूले देश र जनतालाई व्यवस्थित गर्न नसक्दा नकारात्मक शक्ति सलबलाएको बताएका छन् ।
ललितपुरमा आयोजित पार्टीको संघीय परिषद्को प्रथम बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले पुराना राजनीतिक दलहरूले समाज, राष्ट्र, जनता र आफ्नै पार्टीलाई समेत व्यवस्थित गर्न नसकेको बताए । उनले जसको परिणामतः पुनःउत्थानवादी शक्तिहरूले बढी चलखेल गर्ने आँट गरिरहेको बताए ।
पुराना दलहरूको कमी कमजोरीका कारणले पुनःउत्थानवादी शक्तिहरु सडक र सदनमा आएको जिकिर गरे । जनता समाजवादी पार्टीले अब जरैदेखि बलियो ढंगले आधार तयार गर्नुपर्ने बताए ।
अध्यक्ष राईले भने ‘पुराना पार्टीहरूले समाजलाई, राष्ट्रलाई, जनता, राजनीतिलाई आफ्नै पार्टीलाई समेत व्यवस्थित गर्न नसक्दा, व्यवस्थापन गर्न नसक्दा यस खालका नकारात्मक शक्तिहरु, यस खालका पुनःउत्थानवादी शक्तिहरूले बढी चलखेल गर्ने आँट गरिरहेका छन् । आफ्नै पार्टीलाई पनि व्यवस्थापन गर्न नसक्ने, त्यही पार्टीको एकथरीले एकथोक, अर्कोथरीले अर्कोथोक भनेको छ । एकथरी टुटेर, फुटेर हिँड्नुपर्ने अवस्था भइरहेको छ । आफ्नो पार्टी ठिक ढंगले व्यवस्थापन गर्न सकेको भए, यदि मुलुक र जनतालाई, नेपाली राजनीतिलाई सही ढंगले व्यवस्थित गर्न सकेको भए यस्तो पुनः उत्थान शक्तिहरूले नकारात्मक शक्तिहरूले सडकमा आउने हिम्मत गर्नै सक्दैन थिए । उनीहरु सदनसम्म आइपुग्ने अवस्थै हुँदैन थियो । पुराना दलहरूको कमी कमजोरीका कारणले यी सबै चिजहरू भएको हुँदा जनता समाजवादी पार्टीले अब जरैदेखि प्रयत्न गर्नुपर्नेछ । जगैदेखि बलियो ढंगले आधार राखेर अघि बढ्नुपर्नेछ ।’
अध्यक्ष राईले सरकार सकारात्मक रुपमा अघि बढ्नुपर्ने र नकारात्मक क्रियाकलाप गर्नेहरूसँग सरकार मिल्नु नहुने बताए ।








