मेरो अटल विश्वास र दृढतामा कुनै कमी आएको छैन : रवीन्द्र मिश्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रले ८२ दिनपछि सामाजिक संजालमा उपस्थिति जनाएका छन् ।
बिहीवार सामाजिक सञ्जालमार्फत एक लामो स्टाटस सार्वजनिक गर्दै उनले हालै काठमाडौं जिल्ला अदालतबाट न्याय पाएको भन्दै न्यायालयप्रति आभार व्यक्त गरेका छन् ।
राज्य (राजनीतिक नेतृत्व) ले आफूविरुद्ध प्रतिशोध साँध्न गरेको प्रयासबीच अदालतले न्याय दिएको दाबी गर्दै मिश्र लेख्छन्, ‘यद्यपि कानुनी प्रक्रिया अझै बाँकी छ, तर अदालतले मलाई न्याय दिएको छ। निर्दोषहरूले न्याय पाउने नैसर्गिक अधिकारमा राजनीतिको छाया कहिल्यै नपरोस्। न्यायालय सदा स्वतन्त्र रहोस्– यही कामना गर्दछु ।’
५० दिन हिरासतमा र त्यसपछि एक महिना कठिन अवस्थामा बिताएको उल्लेख गर्दै उनले आत्मबल दिने देश–विदेशका नेपालीहरू, समर्थक, शुभचिन्तक र सशक्त अधिवक्ताहरूप्रति आभार प्रकट गरेका छन् ।
मिश्रले हिरासतका दिनमा ३५ भन्दा बढी कविता लेखेको खुलासा गर्दै केही कविताहरू चाँडै सामाजिक सञ्जालमा सार्वजनिक गर्ने बताएका छन् ।
उनले लेखेका छन्, ‘कम्तिमा ३० वर्षपछिको नेपाललाई मनन गरेर देशको दीर्घकालीन हित र समग्र रूपान्तरणप्रतिको मेरो अटल विश्वास र दृढतामा कुनै कमी आएको छैन ।’ साथै उनले भावी कानुनी संघर्षमा पनि न्यायालयबाट न्याय पाउनेमा आफू विश्वस्त रहेको उल्लेख गरेका छन् ।








