प्रजातन्त्रको पक्षमा उभिन शीर्ष तीन दललाई संयुक्त जनआन्दोलन समितिको आह्वान

काठमाडौँ । संयुक्त जनआन्दोलन समितिले प्रजातन्त्रको पक्षमा उभिन शीर्ष तीन दललाई आह्वान गरेको छ ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै समितिले देशमा विद्यमान चौतर्फी संकट र बेथिति सतही प्रयासबाट समाधान हुन नसक्ने जगजाहेर रहेको जनाउँदै चुनौतीको समयमा राष्ट्र, राष्ट्रियताको पक्षमा सबै नेपाली एक ठाउँ उभिनु जरुरी भएको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, राष्ट्रिय हित र नेपाली जनताको चाहना हृदयंगम गर्दै संयुक्त जनआन्दोलन समितिले सबै विचार र संस्था अट्ने, कसैप्रति निषेध र दुर्भाव नहुने गरी नवीन समझदारीको प्रस्तावना गरेको छ । आम जनताको मनोकांक्षा अनुकूल हाम्रो लक्ष्य मूलतः शान्ति र समृद्धि नै हो ।
भावी सन्ततिका लागि कस्तो नेपाल छाडेर जाने भन्ने अहम् प्रश्न हो । वर्तमान परिस्थितिको गाम्भीर्यता मनन् गर्दै दलीय र समूहगत स्वार्थभन्दा माथि उठ्न सम्बन्धित सबैलाई हामी आह्वान गर्दछौँ ।
राष्ट्र र प्रजातन्त्र जोगाउने हामी सबैको साझा उद्देश्य र दायित्व हो । यसर्थ नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र समेतका राजनैतिक दलहरूलाई सबल र समुन्नत राष्ट्र तथा सार्थक प्रजातन्त्रको पक्षमा एकजुट उभिन अनुरोध र आह्वान गर्दछौँ ।
नेपाल रहे नेपाली रहने हो, राष्ट्र हित हामी सबैको साझा स्वार्थ हो ।










