अखिल क्रान्तिकारीको निर्वाचन : प्रचण्डमाथि जनार्दनको दबदबा !

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी विद्यार्थी संगठनको यही माघ १२ गते सम्पन्न निर्वाचनबाट अध्यक्षमा विजयप्रकाश सापकोटा निर्वाचित भए । निकटतम प्रतिस्पर्धी हेमन्त राईलाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

६ सय ८६ मत ल्याएर सापकोटा अध्यक्षमा निर्वाचित हुँदा राईले पनि बलियो टक्कर दिँदै ६ सय १५ मत ल्याएका थिए । अध्यक्षमा निर्वाचित सापकोटा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट हुन् भने पराजित राई उपमहासचिव जनार्दन शर्मा निकट हुन् ।

अखिल क्रान्तिकारीको नेतृत्व प्रचण्ड पक्षधरले गरेपनि अन्य पदाधिकारीमा भने उपमहासचिव शर्मा पक्षधर निर्वाचित भए । अखिल क्रान्तिकारीको निर्वाचनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि उपमहासचिव शर्मा हावी देखिए ।

अध्यक्ष प्रचण्ड,वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ,उपमहासचिव शर्मा र अर्का उपमहासचिव वर्षमान पुन पक्षधरले प्यानल बनाएर चुनाव लडेका थिए । अन्तिम नतिजा अनुसार जनार्दन शर्मा पक्ष हावी देखिएको छ । अध्यक्षमा प्रचण्ड पक्षधरले चुनाव जिते पनि अरु पदहरुमा भने शर्मा पक्षधर हावी भएको हो ।

मतदानबाटै ३२ वर्षे उमेरहद लागू गरेर अखिल क्रान्तिकारी चुनावमा होमिएको थियो । अखिल क्रान्तिकारीको नेतृत्व प्रचण्ड पक्षधरले नै जित्दा महासचिव,उपमहासचिव,कोषाध्यक्ष सहित अधिकांश पदाधिकारी जनार्दन पक्षले जितेका हुन् ।

३२ वर्षे उमेर हदको निर्वाचनबाट विद्यार्थी संगठनको नेतृत्व नयाँ पुस्तामा लैजाने नीति अनुसार प्रत्यक्ष प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व निर्वाचित हुनु माओवादी आन्दोलनका लागि उज्यालो पक्ष भएको पार्टी उपमहासचिव जनार्दन शर्माले बताए ।

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्,‘अखिल क्रान्तिकारीको निर्वाचन सम्पन्न भएको छ, विद्यार्थी संगठनको नेतृत्व नयाँ पुस्तामा लैजाने गरी ३२ वर्षे उमेरहदको निर्वाचनबाट नीतिगत रूपले नयाँ पुस्तामा आइसकेको थियो। सोही नीतिका आधारमा प्रत्यक्ष प्रतिस्पर्धा मार्फत नयाँ नेतृत्व निर्वाचित हुनु माओवादी आन्दोलनका लागि उज्यालो पक्ष हो’ ।

शर्माले अगाडि भने,‘यसको प्रकाशले पूर्ण लोकतन्त्रको पक्षधर माओवादी पार्टी र जन संगठनहरुमा आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्न निरन्तर प्रकाश छरिरहनेछ।’

साथै उनले निर्वाचनमा जसरी पनि जित्नुपर्छ भन्ने मानसिकतालाई अन्त्य गर्न प्रतिनिधिहरुलाई निर्देशित जनवादको सट्टा स्वविवेक प्रयोग गर्ने उनीहरूको अधिकारको सुनिश्चिता गर्न जरुरी रहेको बताए ।

निर्वाचन प्रति नकारात्मक सोच बनाउनुको सट्टा स्वस्थ, स्वच्छ र निष्पक्ष रुपले प्रतिस्पर्धा गराउन सक्षम निर्वाचन आयोग सोही अनुरुपको सहजकर्ता, व्यवस्थापन, दबाब मुक्त रुपमा कार्य सम्पादन गर्ने वातावरण तयार पार्न ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

अखिलको निर्वाचनपछि पार्टी अध्यक्ष प्रचण्डमाथि उपमहासचिव शर्माले आफ्नो दबदबा बढाएका छन् । उनले विद्यार्थी संगठनको निर्वाचनपछि पार्टी भित्र अध्यक्ष प्रचण्डमाथि आफ्नो दबदबा बढाएको प्रष्ट भएको छ । पार्टीभित्र पनि नेतृत्वको ओलाचना गर्ने गरेका शर्माले विद्यार्थी संगठनमा आफ्नो बलियो प्रभाव देखाए ।

अखिल क्रान्तिकारीको निर्वाचनमार्फत पार्टी उपमहासचिव शर्माले अध्यक्ष प्रचण्डलाई बलियो टक्कर दिए । पार्टीमा पनि उपमहासचिव शर्मा नेतृत्वको आलोचना गर्दै फरक मत राख्दै आएका छन् । उनले पार्टी अध्यक्ष प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न प्रस्ताव समेत गर्दै आएका छन् । अध्यक्ष प्रचण्ड सहितका पदाधिकारीहरु संरक्षको भूमिकामा रहने र तेस्रो पुस्ताको युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने उनी बताउँदै आएका छन् ।

उनले पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहनको मान्यतामा रही नेतृत्व हस्तान्तरण गर्न प्रस्ताव गर्दै आइरहेका छन् । शर्मा पार्टीमा समेत सबै तहका पदाधिकारीहरु प्रतिनिधिद्धारा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरिनुपर्ने बताउँछन् ।

पार्टीलाई विधि,पद्धती र नेतृत्व विकासका लागि सबै तहका पदाधिकारीहरु प्रतिनिधिद्धारा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्नुपर्ने उनको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 9 =