रास्वपालाई ८४ को निर्वाचनमा पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

शनिबार काठमाडौँमा आयोजित पार्टीको धादिङ–काठमाडौँ सम्पर्क भेलामा बोल्दै उनले सो दाबी गरेका हुन् ।

लामिछानेले २०८४ सालको निर्वाचनमा पार्टीलाई मुलुकको पहिलो शक्ति बनाउनका लागि पार्टीका नेता, कार्यकर्ताहरूले भने असल मानिसका लागि पद त्याग गर्ने हृदय र सोच लिएर अघि बढ्नुपर्ने बताए ।

उनले ‘जान्नेलाई छान्ने’ काम गरियो भने राम्रा मानिसहरू पदमा आउने र त्यसले पार्टीलाई पहिलो शक्तिको रूपमा स्थापित गराउने तर्क गरे ।

सभापति लामिछानेले आफ्नो पार्टीलाई कुनै पनि तागतले लडाउन नसक्ने जिकिर समेत गरे । लडे आफ्नै गोडामा अल्झिएर लडने हो भन्दै उहाँले त्यस्तो हुन नदिने गरी अघि बढ्न पनि सिंगो पार्टी पङ्क्तिलाई आह्वान गरे।

लामिछानेले नयाँ पार्टी र व्यक्तिहरू बीच फाटो ल्याउन ठुला दलहरूले संगठित प्रयास गरिरहे पनि सफल हुन नदिने बताए ।

उनले भने, ‘कुनै पनि बेला असल मानिसका लागि मैले अहिले लिई रहेको पद र जिम्मेवारी उसलाई दिएर म ऊसको सहयोगी हुन सक्छु कम्तीमा पनि २०८४ सालसम्म यो हृदय र यो सोच तपाईँहरूसँग छ भने यो पार्टीलाई यो मुलुकको एक नम्बरको पार्टी, पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन । तर तपाई हामीहरूले असल मान्छेका लागि बस्ने ठाउँ ओगटेर बसिदियौं भने निष्ठा र इमानदारिताका साथ काम गरी दिएनौँ भने अन्तमा हामी त चुनावमै जानुपर्ने हुन्छ । म त पहिल्यै देखि बसेको हुँ भनेर जनताले पत्याउने वाला छैन । जनता त त्यस्तो मानिस खोजिरहेका छन् । जसका काँधमा यो देशको जिम्मेवारी दिन सकियोस् । त्यस अर्थमा अहिले जति पनि साथीहरूले जिम्मेवारी लिई रहनु भएको छ । मेरो विनम्रतापूर्वक अनुरोध छ–त्यो जिम्मेवारी आफ्नो व्यक्तिगत चाहनाका लागि म त फलानो पार्टीको यो सदस्य हो नि । अथवा पद यो हो नि भनेर एउटा भिजिटिङ कार्डमा गज्जब पद लेख्ने लोभमा पार्टीको पद ओगट्ने होइन कि साँच्चै नै त्यो पदको गरिमा बढाउनका निमित्त मुलुकको परिवर्तनको निमित्त यो अभियान सुरु भएको छ । म त्यो अभियानको एउटा सिपाई हुँ । म सिपाई भएर काम गर्न सक्छु, पद मेरो लागि ठुलो कुरा होइन । पदमा त्यही आउँछ, जो जान्दछ । जान्नेलाई छान्ने भन्नु भयो भने बस पुगिहाल्छ । मैले बारम्बार भन्ने गरेको छु साथीहरूलाई लेखेर पनि राख्नुस् है ठुलो अक्षरमा बिर्सेला भनेर हिजो अस्ति पनि भनेको थिएँ कि हामी लड्यौँ भने आफ्नै गोडामा अल्झिएर मात्रै लडछौं । अरूले हामीलाई लडाउने तागत नै राख्दैन । म यति भन्न चाहन्छु । प्रयास त हुन्छन्, भई रहेका छन् । अहिले देख्नु भएको छैन संगठित रूपमा हामीलाई लडाउने प्रयास भइरहेको छ । यो राम्रो कि त्यो राम्रो भनेर नयाँ नयाँ नेताहरूको फोटो राख्दै ।’

लामिछानेले सामाजिक सञ्जालमार्फत असहिष्णु व्यवहार प्रदर्शन नगर्न पनि पार्टीका कार्यकर्ता र समर्थकहरूलाई सचेत गराए । हाम्रा पार्टीका कार्यकर्ता र समर्थकहरूले विपक्षको भन्दा पनि माथि उठेर गाली गलौचको भाषा सामाजिक सञ्जालमा प्रयोग गरे त्यसको असर पार्टी र दलका नेतालाई समेत पर्ने भएकाले त्यस्ता काम गर्न नहुने उनको भनाई थियो ।

सभापति लामिछानेले इमानमा रहेका दिनसम्म मात्रै नेताहरूको बचाउमा लाग्न पनि सिंगो पार्टी पङ्क्तिलाई सचेत गराए । उनले सभ्य र शिष्ट ढंगले विपक्षहरूको आलोचना गर्न सक्नु नै पार्टीको हितमा हुने पनि पटक पटक दोहो¥याए ।

सभापति लामिछाने भन्छन्, ‘हाम्रा समर्थकहरू, हाम्रा सदस्यहरू सामाजिक सञ्जालमा असहिष्णु छन् । असाध्यै धेरै गालीगलौज गर्छन भनेर आरोप लागेको छ । अव त्यो आरोप खपेर बस्न मिल्दैन । एउटा राजनीतिक दलका रूपमा समर्थकहरूले जे मन लाग्यो, त्यही भनिरहँदाखेरी त्यो दलको नेताहरूलाई त्यसको असर पर्छ । यो माया गर्नुहुने, समर्थन गर्नुहुने तपाई साथीहरूका अगाडि नभने मैले कसका अगाडि भन्ने ? मैले तपाईँहरूलाई यति बिन्ती नगरे कसलाई गर्ने ? पार्टी सभापतिको हैसियतले मैले फेरी पनि तपाईँहरूलाई भन्न चाहन्छु–आएका गाली, आलोचनाहरूलाई त्यो भन्दा तल गएर गाली गर्नु हुँदैन । हो, आफ्नो नेतालाई बचाउनु पर्छ । सबैले आफ्नो नेतालाई बचाउँछन् । आफ्नो नेता इमानमा रहेका दिनसम्म बचाउने हो । इमान छोडेको दिन कसैले बचाउनु पर्दैन । म यो पनि तपाईँहरूलाई भन्न चाहन्छु–इमानमा रहुन्जेल बचाउनु पर्छ । मात्रै यति हो कि सभ्य र शिष्ट ढंगले बचाई दिनु भयो भने ओहो रास्वपाका समर्थकहरू त कति शिष्ट भए भएछन् । पहिला त कस्तो थिए । अहिले त कति राम्रा भएछन् ? आलोचना त गर्छन्, सुन्छन् । तर कति सभ्य र शिष्ट ढंगले गर्छन् भनेर भन्ने वातावरण पनि हामीले नै बनाउनु पर्नेछ । त्यस कारण माया गर्न पनि जान्नुपर्छ साथीहरू ।’

सभापति लामिछानेले भ्रष्टहरूलाई समाप्त पार्ने अभियानमा आफ्नो पार्टी दृढतापूर्वक लागिरहेन प्रतिबद्धता समेत दोहो¥याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + six =