शुरुभयो स्ववियु निर्वाचन प्रक्रिया

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते सञ्चालन गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया सुरु भएको छ । आगामी चैत ५ गते देशभरका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ ।

विश्वविद्यालयअन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने विद्यार्थी संगठनले आज अपराह्न ३ बजेभित्र दर्ता गर्नु पर्नेछ । फागुन २१ गते निर्देशनालयले मतदाताको नामावली प्रकाशन गर्नेछ ।

नामावलीमाथि फागुन २५ गते दिउँसो १ बजेभित्र दाबी विरोध गर्न पाइने छ। दाबी विरोधमाथि छानबिन गरेर त्यही दिन साँझ ५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने निर्देशनालयका सदस्यसचिव प्राध्यापक पशुपति अधिकारीले जानकारी दिए । उनकाअनुसार फागुन २६ गते प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको मनोनयनपत्र वितरण गरिनेछ ।

फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मनोनयनपत्रको नामावली दाखिला हुनेछ । साँझ ५ बजे प्रत्यक्षतर्फका उम्मेदवारको नामावली प्रकाशन हुनेछ । फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेभित्र प्रत्यक्षतर्फका उम्मेदवारमाथि दाबी विरोध गर्ने समय तोकिएको छ । साँझ ५ बजे प्रत्यक्षतर्फका उम्मेदवारमाथि परेको दाबी विरोधमाथि छलफल गरेर अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिकामा उल्लेख छ ।

प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरूलाई फागुन २९ गते दिउँसो १ बजेसम्म फिर्ता लिने समय दिइनेछ । त्यही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्देशनालयले जनाएको छ । बिहान ८ बजेदेखि निर्वाचन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *