केएमसीको शिविरबाट बनेपाका ११ सय बिरामीको निःशुल्क उपचार

काभ्रे । काभ्रेको बनेपा नगरपालिकामा मङ्गलवार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ११ सय भन्दा बढी बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

बनेपा नगरपालिका वडा नं.७ सँग सहकार्य गरेर काठमाडौँको सिनामंगलस्थित काठमाडौंं मेडिकल कलेजले स्थानीय वाइलर इन्टरनेशनल एकेडेमीमा एक दिने शिविर सञ्चालन गरेको हो ।

शिविरमा १ हजार १ सय ५३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

शिविरमा उपचारका क्रममा २१३ जनाको रक्त परीक्षण, १६४ जनाई मुटुको जाँच (इसीजी) र ११७ जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै, दाँतमा समस्या भएका ३१ जनाको दाँत उखेलिएको छ ।

यता, शिविरमा उपचार सम्भव नभई अप्रेसन गर्नुपर्ने अवस्थाका ४२ जना बिरामीलाई अस्पताल रेफर गरिएको छ । यसअघि केएमसीले काभ्रेको धुलिखेलमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरबाट १ हजार १ सय ६५ बिरामी लाभान्वित भएका थिए ।

पूर्वी नेपालको प्रतिष्ठित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि गत वर्षदेखि नै केएमसीले विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

शिविरबाट हजारौँ बिरामीले उपचार पाएका छन् । ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरेर स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइने केएमसीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + two =