जोर्गिन्हो युइएफए वर्ष खेलाडी

काठमाडाैँ । इटालीलाई युरोकप जिताउँदा महत्वपुर्ण भूमिका निभाएका चेल्सीका मिडफिल्डर जोर्गिन्हो ‘प्लेयर अफ दि इयर’ को अवार्ड हासिल गरेका छन् । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले बिहीबार एक कार्यक्रमबीच विजेता घोषित गरेको हो ।
जोर्गिन्होले म्यानचेस्टर सिटीका केभिन डे ब्रुएना र चेल्सीकै एनगोलो कान्टेलाई पछि पार्दै अवार्ड जितेका हुन् । इटालियन मिडफिल्डर जोर्गिन्होले चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । २९ वर्षीय जोर्गिन्होले चेल्सीका लागि यूईएफए सुपर कपसमेत जितेका थिए । उनी युरोपका मुख्य प्रतियोगिताको सबै उपाधि जित्ने चेल्सीका पहिलो खेलाडी समेत हुन् । उनले च्याम्पियन्स लिग, युरोपा लिग, यूईएफए सुपर कप र युरोकप जितेका छन् ।
महिलातर्फको अवार्ड बार्सिलोनाका एलेक्सिया पुटेलासले जितेकी छिन् । पुरुषको कोच अफ दि इयर अवार्ड चेल्सीका थोमस टुचेलले हात पारे । उनले पेप ग्वार्डीओला र रोबर्टो मान्सिनीलाई पछि पारे । त्यस्तै महिलाको कोच अफ दि इयर अवार्ड लुइस कोर्टेसले हात पारे । त्यस्तै व्यक्तिगत विधाको पुरुषतर्फको फरवार्ड अफ दि सिजन अवार्ड बोरुसिया डर्टमण्डका अर्लिङ हालाण्डले हात पारे। महिलातर्फ बार्सिलोनाका जेन्नी हेर्मोसोले जितिन् ।
त्यस्तै पुरुषतर्फ मिडफिल्डर अफ दि सिजन चेल्सीका एनगोलो कान्टे र महिलातर्फ बार्सिलोनाका एलेक्सिया पुतेलासले जितिन् । डिफेन्डर अफ दि सिजन अवार्ड पुरुषतर्फ सिटीका रुबेन डियास र महिलातर्फ पीएसजीका इरेने पारेडेसले जितिन् । पुरुषतर्फ गोलकिपर अफ दि सिजन अवार्ड चेल्सीका एडुआर्ड मेन्डीले हात पार्दा महिलातर्फको अवार्ड बार्सिलोनाका सान्ड्रा पानोसले हात पारिन् ।








