तस्वीरमा श्रावणी स्नान

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।
स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ । अरुन्धती सहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो ।
वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोक विनायकलगायत वाग्मती नदीको किनार र काठमाडौँ उपत्यकालगायत देशभरका मठमन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले भौतिक दूरी कायम गरी सांस्कृतिक पर्व मनाउन सरकारले आह्वान गरेको छ ।
२१ तस्वीरमा हेर्नुहोस् गुरुकुलमा संस्कृत पढिरहेका विद्यार्थीहरुको श्रावणी स्नान :-









