केन्याका किपचोगेलाई ओलम्पिक म्याराथनको स्वर्ण

काठमाडाैँ । टोकियो ओलम्पिककको अन्तिम दिन म्याराथनको स्वर्ण केन्याली धावक एलिउड किपचोगेले जितेका छन् । पुरुष म्याराथनतर्फ आइतबार भएको स्पर्धामा किपचोगेले स्वर्ण जितेका हुन् । १९८० पछि उनी लगातार दुई ओलम्पिक म्याराथनमा स्वर्ण जित्ने केन्याली खेलाडी बने ।
किपचोगेले २ घन्टा ८ मिनेट ३८ सेकेन्डको समय निकाले । त्यस्तै नेदरल्याण्ड्सका अब्दी नागियेले दुई घण्टा ९ मिनेट ५८ सेकेण्डमा दूरी पूरा गर्दै रजत जिते भने बेल्जियमका बसिर अब्दीले २ घण्टा १० मिनेटमा दूरी पूरा गरेर कास्य जिते ।
किपचोगेले यसअघि सन् २०१६ को रियो ओलम्पिकमा पनि म्याराथनमा स्वर्ण जितेका थिए । विश्व कीर्तिमान धावक किपचोगेले दोस्रो स्थानमा रहेका खेलाडीलाई एक मिनेट २० सेकेण्डले पछि पारे । किपचोगे सन् २००४ र २००८को ओलम्पिमा ५००० मिटर दौडेका थिए ।
२००४ मा उनले कांस्य र २००८ मा रजत जितेका थिए । किपचोगेले सन् २०१८ मा भएको बर्लिन म्याराथनमा २ घण्टा एक मिनेट ३९ सेकेण्डको विश्व कीर्तिमान बनाएका थिए । ३६ वर्षीय किपचोगे ओलम्पिक म्याराथनमा एकभन्दा धेरै स्वर्ण पदक जित्ने तेस्रो खेलाडी बनेका छन् ।








