२५ रनबाट खेल थाल्दै इंग्ल्यान्ड

काठमाडौं । भारत र इंग्ल्यान्डबीच जारी ट्रेन्ट ब्रिज टेस्टको तेस्रो दिन वर्षाका कारण केवल ४९.२ ओभरको मात्र खेल भयो । पहिलो इनिङमा इंग्ल्यान्डले १८३ रन बनाएको थियो । जवाफमा भारत २७८ रनमा समेटियो । भारतले पहिलो इनिङमा ९५ रनको अग्रता बनाउन सफल भएको थियो । जवाफमा दोस्रो इनिङ सुरु गरेको इंग्ल्यान्डले बर्षाले खेल प्रभावित हुनु अघि २५ रन बनाएको छ ।
शनिबार इंग्ल्यान्डले २५ रनबाट दिनको खेल सुरु गर्ने छ । उसका लागि डोम सिब्ली ९ तथा रोरि बर्नस ११ रन बनाएका छन् । पहिलो इनिङमा भारतका लोकेश राहुलले ८४ तथा रविन्द्र जडेजाले ५६ रन बनाए । इंग्ल्यान्डका ओली रबिन्सनले ८५ रन दिएर ५ तथा जेम्स एन्डरसनले ५४ रन दिएर ४ विकेट लिए । भारत अन्तिम तीन विकेटको साझेदारिमा ७३ रन बनाउन सफल भएको थियो ।
एन्डरसनको कीर्तिमान
जेम्स एन्डरसन टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी समेत बने । उनले भारतीय लेग स्पिनर अनिल कुंम्बलेलाई पछि पारे । एन्डरसनले अहिले सम्म ६२१ विकेट हात पारे । कुम्बलेले ६१९ विकेट लिएका थिए ।
तेस्रो दिनपनि वर्षाले पुरा खेल हुन दिएन । दोस्रो दिन पनि वर्षाले केवल ३३.४ ओभरको मात्र खेल भएको थियो । तेस्रो दिन भने ४९.२ ओभरको खेल भएको थियो त्यसपछि वर्षाले तेस्रो दिन बिथोल्यो ।








