ओलम्पिक फुटबल : फाइनलमा ब्राजिल र स्पेन खेल्दै

काठमाडौं । जापानको टोक्योमा जारी ओलम्पिकअन्तर्गत पुरुष फुटबलको स्वर्ण पदकका लागि साविक च्याम्पियन ब्राजिल र स्पेन शनिबार प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समयानुसार साँझ ५:१५ बजे शुरु हुनेछ । ब्राजिलले मेक्सिकोलाई पेनाल्टी सुटआउटमा ४–१ ले तथा स्पेनले भने आयोजक जापानलाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै फाइनल भेट तय गरेका हुन् ।

ब्राजिल ओलम्पिकको पुरुष फुटबलमा लगातार दोस्रो स्वर्ण पदक जित्ने धुनमा छ भने स्पेन पुरुष फुटबलमा सन् १९७० पछि स्वर्णको खोजीमा छ । ५१ वर्षअघि स्पेनले पोल्यान्डलाई हराउँदै स्वर्ण पदक जितेको थियो । ब्राजिलले भने घरमै आयोजनाका भएको ओलम्पिकको अघिल्लो संस्करण मा जर्मनीलाई पराजित गर्दै स्वर्ण जितेको थियो ।

दुवै टीम उत्कृष्ट लयमा
ब्राजिलले समूह चरणमा जर्मनीलाई ४–२ ले र साउदी अरेबियालाई ३–१ ले पराजित गरेको थियो भने आइभरी कोस्टसँग गोलरहित बराबरी खेलेको थियो । क्वार्टरफाइनलमा इजिप्टलाई १–० ले हराएको थियो ।

त्यस्तै स्पेनले समूह चरणमा अस्ट्रेलियालाई १–० ले हराएको थियो भने इजिप्टसँग गोलरहित तथा अर्जेन्टिनासँग १–१ गोलको बराबरी खेल्दै क्वाटरफाइनल पुगेको थियो । क्वाटरफाइलनमा आइभोरी कोस्टलाई अतिरिक्त समयमा ५–२ ले पराजित गर्दै स्पेनले सेमिफाइनलको यात्रा तय गरेको थियो ।

फाइलनमा ब्राजिल कप्तान ड्यानी अल्भेस, स्ट्राइकर रिचार्लिसनलगायतको प्रदर्शनमा बढी निर्भर हुनेछ भने स्पेन यूरोकप खेलेका अधिंकाश युवा स्टारका साथमा हुनेछ । ड्यानी ओल्मो, मिकेल ओयासोबल, पाओ टोरेस, इसिरक गार्सिया, मार्को असेन्सियो, पेड्रीलगायत युवा खेलाडीलाई स्पेनले ब्राजिलविरुद्ध मैदान उतार्ने छ । ओलम्पिकको फुटबलमा यु–२३ टिमले सहभागिता जनाउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =