नेपाली क्रिकेटमा पारस युग

डिभिजनदेखि विश्वकप र एकदिवसीयसम्मको यात्रा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टीमका सदस्य तथा पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट मंगलबार सन्यास लिएको घोषणा गरे । ३४ वर्षीय खड्काले धेरैको अनुमानविपरीत आफ्नो १९ वर्षे क्रिकेट करिअरको अन्त गर्दैगर्दा उनीसँगै पारस युगको पनि अन्त्य भएको छ । पारस कप्तानका रुपमा सर्वाधिक सफल रहे । १० वर्ष नेपालको कप्तानी भूमिका निर्वाह गरेका उनले करिब १७ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेले ।

मूख्य रुपमा ट्वेन्टी ट्वेन्टी विश्वकप र एकदिवसीय मान्यता नेपाली क्रिकेटको अहिलेसम्मको सर्वाधिक ठुलो उपलब्धिका रुपमा रहे । नेपालले हासिल गरेका यी उपलब्धिका पछाडि सधैँ एक सफल कप्तानका रुपमा पारस खड्काको नाम जोडिएर आउने गरेको छ, आइरहनेछ । पारसले सन् २००९ मा नेपालको कप्तानी सम्हालेयता उनी सबैभन्दा धेरै वर्ष नेपाली राष्ट्रिय टिमको नेतृत्व गर्ने खेलाडीका रुपमा रहे ।

सन् २००४ मा एसीसी इन्टरकन्टीनेन्टल कपमा मलेसियाविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टिममा डेब्यू गरेका पारसले त्यसअघि २००२ मा नै उनले नेपालको प्रतिनिधित्व गरिसकेका थिए । जतिबेला उनी १५ वर्षका थिए । उनले उमेर समूहमा यू-१७ र यू-१९ हुँदै राष्ट्रिय टीमको यात्रा तय गरे । उनले २००४, २००६ र २००८ को यू-१९ विश्वकप खेले ।

पछिल्लोपटक पारसले राष्ट्रिय टीमका लागि गतवर्ष मार्चमा थाइल्यान्डमा आयोजित एसीसी इस्टर्न रिजन टी-२० प्रतियोगिता खेलेका थिए । नेपाली क्रिकेट टिमको सर्वाधिक सफल कप्तान पारसको सबैभन्दा ठूलो उपलब्धि नेपाललाई २०१४ को टी-२० विश्वकपसम्म पुर्‍याउनु हो ।

धेरै रन बनाउनेमा विराट कोहलीभन्दा पारस खड्का अगाडि

नेपाली सीनीयर टीमले खेलेको पहिलो र अहिलेसम्मको एकमात्र विश्वकपका रुपमा २०१४ को बंगलादेश विश्वकप हो । त्यस्तै पारसको कप्तानीमा नेपाल २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त देश बन्यो । उनकै कप्तानीमा नेपालले २०१८ मा नेदरल्यान्डलाई हराउँदै पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय जित हासिल पनि गर्‍यो ।

डिभिजन स्तरदेखि उठेको क्रिकेट
नेपाली क्रिकेटमा पारस खड्काले डिभिजन पाँचबाट नेपाललाई सीनीयर टीममा अन्तर्राष्ट्रिय उपाधि दिलाउन थालेका हुन् । २०१० मा नेपालले घरेलु मैदानमा डिभिजन पाँचको उपाधि जितेको थियो‚ त्यो नै नेपाली क्रिकेटको पहिलो ठूलो उपाधि थियो ।

त्यसो त पारसको कप्तानीमा नेपाल सन् २०१० को आईसीसी विश्व क्रिकेट लिग डिभिजन-५, सँगै २०१२ को डिभिजन-४, २०१३ र २०१४ को डिभिजन-३ प्रतियोगिताको उपाधि जित्न सफल रह्यो । त्यस्तै २०१२ को एसीसी ट्रफीमा नेपाल र युएई संयुक्त विजेता बन्दा पनि उनैको कप्तानी महत्वपूर्ण रहेको थियो ।

कप्तानबाट राजीनामा
राष्ट्रिय टीमको कप्तानबाट पारसले २०१९ अक्टोबरमा राजीनामा दिए । आईसीसीले सरकारी हस्तक्षेप भएको भन्दै नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गरेपछि खेलाडी छनोटदेखि, व्यवस्थापक तथा कप्तानी सबै भूमिका पारसकै हातमा पुगेको थियो । अर्थात् उनले नचाहँदासम्म नेपाली क्रिकेटका कुनैपनि गतिविधि अघि बढ्न सक्दैन थिए ।

२०१८ मा नेपालको ब्याटिङ, कप्तान पारसले धानेको वर्ष – WicketNepal

क्यानको निलम्बन फुकुवा भएसँगै उनले कप्तानबाट राजीनामा दिए । क्यानको नयाँ नेतृत्व उनले चाहेअनुसार नआउँदा उनलाई असहज भएको मान्नेहरूको पनि कमी छैन । यद्यपि उनको अबको यात्रा क्रिकेट नेतृत्वमा आउनका लागि नै हुने कुरामा दुई मत छैन । क्यानको नेतृत्वमा आउन कम्तिमा २ वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट राजीनामा दिएको हुनुपर्ने विधानको व्यवस्थाका कारण पनि उनले ‘अलि छिट्टै’ सन्यासको घोषणा गरेका हुन् भन्ने लख काट्न सकिन्छ ।

पारसको कप्तानीमा नेपालले २७ वटा टी-२० अन्तर्राष्ट्रिय खेल खेलकोमा ११ जित र १५ हार व्यहोरेको छ । त्यस्तै उनले नेतृत्व गरेको ६ वटा एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले ३ खेलमा जित र ३ खेलमा हार भोगेको छ ।

व्यक्तिगत रेकर्डमा पनि अब्बल
पारस, एकदिवसीय अन्तर्राष्ट्रिय र टी-२० अन्तर्राष्ट्रियमा नेपालका तर्फबाट सर्वाधिक रन बनाउने खेलाडीका रुपमा समेत रहे । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा १० खेलमा १ शतक र १ अर्धशतकसहित ३१५ रन तथा टी-२० अन्तर्राष्ट्रियमा ३३ खेलमा १ शतक र ४ अर्धशतकसहित ७९९ रन बनाएका छन् । दुवै फर्म्याटमा शतक प्रहार गर्ने उनी पहिलो नेपाली खेलाडीसमेत हुन् । २०१९ मा युएईविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा तथा सोही वर्ष सिंगापुरसँगको टी-२० अन्तर्राष्ट्रियमा उनले शतक बनाएका थिए । त्यस्तै पारसले २ प्रथम श्रेणी ४४ लिस्ट ए तथा ५६ टी-२० खेल खेलेका छन् ।

टी-२० विश्वकप र एकदिवसीय मान्यता
सन् २०१३ मा बर्मुडामा भएको विश्व क्रिकेट लिग डिभिजन ३ मा नेपाल च्याम्पियन बन्दै टी-२० विश्वकप छनोटमा पुग्यो । छनोटमा तेस्रो बन्दै नेपालले सन् २०१४ को आइसीसी टी-२० विश्वकपमा स्थान बनाउँदा कप्तान पारसको भूमिका महत्वपूर्ण रह्यो ।

यसकारण आइसिसी एसोसिएट प्लेयर अफ दी डिकेडका बलिया दाबेदार हुन् पारस खड्का – देशसञ्चार

टी-२० विश्वकपमा नेपालले हङकङ र बंगलादेशसँग खेलेको खेलमा पारसले समान ४१-४१ रन प्रहार गरेका थिए । हङकङसँग उक्त विश्वकपको पहिलो बलमै इरफान अहमदको विकेट लिँदै उनी विश्वकपको पहिलो बलमै विकेट लिने विश्वकै आठौं खेलाडीसमेत बनेका थिए । उक्त विश्वकपमा अफगानिस्तानसँग ९ रनको रोमाञ्चक जित निकाल्दा पारसको प्रदर्शन उत्कृष्ट रहेको थियो । उक्त विश्वकपपछि नेपालले पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।

पछिल्लोपटक नेपालले पाएको सर्वाधिक ठूलो उपलब्धी एकदिवसीय मान्यता हो । नेपालको तर्फबाट २०१५-१७ सम्म विश्व क्रिकेट लिग च्याम्पियनसीपको उनले नेतृत्व गरे । सोही वर्षको फेब्रुअरीमा भएको डिभिजन टूमा उनले नेपाललाई उपविजेता बनाउँदै मार्चमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुर्‍याए भने उक्त छनोटमा आठौँ बन्दै नेपालले एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता प्राप्त गर्न सफल भयो ।

नेपालले आजकै दिन अर्थात् २०१८ को अगस्ट तीनमा नेदरल्यान्डमाथि १ रनको रोमाञ्चक जित निकाल्दै उनकै नेतृत्वमा खेलेको नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय जितेको थियो । त्यसको ३ वर्षपछि नेपाली टीमका लिजेन्ड स्टार पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट नखेल्ने घोषणा गरे । उनको अभाव नेपाली राष्ट्रिय टीममा पक्कै खट्किनेछ । किनपनि भने उनी नेपाली खेलाडीहरूका लागि एक ‘हिरो’ र ‘मोटिभेसनल क्यारेक्टर’ पनि थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 4 =