दीपा-स्वस्तिमा हिलोमा : दर्शक भन्छन् ‘नाटकै हो’

काठमाडौं। आजकल कोरोनाका कारण कलाकार फुर्सदिला छन् । विपद्को समयमा पैसा उठाउने बाहेक अहिले खासै केही काम देखिँदैन । हिजो असार पन्ध्र अर्थात् धान दिवस । कृषिप्रधान देश भनिन्छ नेपाललाई । तर अहिलेसम्म खाद्यान्नमा भारतकै मात्र भर पर्नुपर्ने स्थिति भने कायमै छ । यस्तोमा हिजो दही-चिउरा खाँदै धान रोपेर असार पन्ध्र तथा धान दिवस मनाइयो ।

कलाकार न परे‚ अभिनय त गर्नेपर्‍यो । स्वस्तिमा खड्का र दीपाश्री निरौलाले पनि हिजो भक्तपुरको हिलो खेतमा गज्जब अभिनय गरे । सुकिला लुगा लगाएर खेतमा पुगेका उनीहरूले धानको बिउ समाउँदै धान रोप्न थाले । यति भए त पुगिगयो । धान किन रोप्नुपर्‍यो र ? धन्न स्वस्तिमाले कुर्था लगाएर तस्विरलाई हेर्न लायक बनाएकी छन् ।

अझ दीपाले त विराटनगरमा हुँदा धान रोप्ने गरेको पनि बताउन भ्याइन् । तर तस्बिर हेर्दा त्यस्तो लाग्दैन थियो । बाउसे नै नगरेको हिलोमा पसेर हात डुबाउँदैमा धान रोपेको भनेर दर्शकले पत्याउने वाला छैनन् । उनीहरूले सामाजिक सञ्जालमा गरेको पोस्टमा पनि प्रायः यस्तै यस्तै प्रतिक्रिया आएका छन् ।

केही सञ्जाल प्रयोगकर्ताले ‘नाटक’ भनेका छन् भने केहीले ‘साडी लगाएर खेतमा गएको भए हुने’ भन्दै प्रतिक्रिया दिएका छन् । कतिपयले त ‘दशैँको कपडा लगाएर धान रोप्न गएको’सम्म भन्न भ्याए ।

त्यतिमात्रै होइन‚ उनीहरूको आँखामा कालो चस्मा टलक्क टल्किएको थियो । यसो एकैछिन हिलोमा पस्ने नाटक गर्दा पनि हिलोमा रमाउन नसक्ने नसक्ने कलाकारको चलचित्र हेर्न दर्शक हलसम्म जानुपर्ने उनीहरूको माग हुन्छ ।

केही दर्शकलाई मात्रै भए पनि भ्रममा पारेर साँच्चै धान नै रोप्न गएको भान पार्न सके गज्जब हुने थियो । तर कपी गर्ने र पुरानै कन्सेप्ट नछोड्ने कलाकर्मीबाट परिवर्तन र सत्यताको नजिक भएको अपेक्षा के नै राख्ने होला र !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *