जबरजस्ती अस्पतालमा बसाएर साढे १० लाख असुलेको दाबीसहित सर्वाङ्ग अस्पतालविरुद्ध उजुरी

काठमाडौं । कोरोना संक्रमित बिरामीसँग झण्डै १३ लाख रुपैयाँको बिल दिएर ठगी गरेको आरोपमा ललितपुरको सर्वाङ्ग अस्पतालविरुद्ध पीडितले उजुरी दिएका छन् । अस्पतालले संक्रमितलाई १८ दिनसम्म आइसीयूमा राखेर १२ लाख ८६ हजार ५ सय २० रुपैयाँको बिल थमाएको बिराेध गरेपछि १० लाख ३६ हजार रुपैयाँ तिर्न बाध्य बनाएको दाबी गर्दै भारतको जम्मू-कश्मीर घरभई कुपण्डोल बस्दै आएका ६५ वर्षीय इन्दर सिंह सुडानले उजुरी गरेका हुन् ।

सिंहले सर्वाङ्ग अस्पताल, अस्पतालका अध्यक्ष सुशील खनाल, अस्पतालको लेखा विभागका कर्मचारी राजन खनाल र पुल्चोकमा एक रेन्टुरेन्ट सञ्चालन गर्ने रवी सिंह भनिने रवीन्द्र सिंहविरुद्ध दिएको उजुरीको प्रतिलिपि मकालुखबरलाई प्राप्त भएको छ ।

उजुरीमा उल्लेख भएको विवरणअनुसार उजुरीकर्ता सिंह वैशाख २६ गते कोभिड संक्रमणले स्वासप्रश्वासमा समस्या भएपछि नजिकैको सर्वाङ्ग अस्पताल भर्ना भएका थिए । एक रात एक दिन आकस्मिक कक्षमा राखेपछि उनलाई आइसीयूमा राख्नुपर्ने डाक्टरले सुझाव दिए । शुरुमा अस्पतालले आइसीयू नभएको बताएको तर, अस्पतालका व्यवस्थापक राजन खनालका साथी र बिरामी सिंहलेसमेत चिनेका रवीन्द्र सिंह (रवी सिंह) को आग्रहमा अस्पतालले आइसीयूको व्यवस्था गरिदियो ।

तर केही दिको उपचारपछि सन्चो भइसक्दा पनि डिस्चार्ज गर्न मिल्दैन, सञ्चो भएको छैन भन्दै अस्पताले आइसीयूमा लगातार १८ दिन राखेको सिंहको दाबी छ । अस्पतालको व्यवहारमा शंका लागेपछि अर्कै अस्पताल लाने भनेर परिवारले डिस्चार्ज माग्दा अस्पतालले बिरामीका परिवारलाई १२ धेरै आएकाले प्रहरीमा उजुरी गर्नेे बताएपछि अस्पतालले २ लाख ५० हजार ५ सय २० रुपैयाँ छुट (डिस्काउन्ट) गरिदिएको भन्दै उक्त रकम घटाएर अर्को बिल थमाएको थियो ।

हेर्नुहोस् बिलको फोटो :-

मकालुखबरलाई प्राप्त बिलकाे फाेटाेमा सर्वाङ्ग स्वास्थ्य सदन प्रालिको नाममा २०७८ साल जेठ ११ गते काटिएको बिलमा भेन्टिलेटर शिर्षकमा ८ लाख ११ हजार २ सय, आईसीयू बेडको २ लाख ७० हजार लगायत गरि १२ लाख ८६ हजार ५ सय २० रुपैयाँ उल्लेख गरिएको छ । हरियो रंगको यो बिलमा कति दिन उपचार गरेको भन्ने विवरण समेत उल्लेख गरिएको छैन भने बिलमा अस्पतालकाे भ्याट र प्यान नम्बरधरि उल्लेख गरिएको छैन ।

फेरि त्यहि दिनको मिति रहेको सर्वाङ्ग स्वास्थ्य सदन प्रालिको नामको अर्को राताे रंगको बिलमा भने जम्मा डिस्चार्ज रकम १२ लाख ८६ हजार ५ सय २० रुपैयाँ उल्लेख गरि त्यसमा २ लाख ५० हजार ५ सय २० रुपैयाँ छुट गरि १० लाख ३६ हजार रुपैया देखाइएको छ । यो बिलमा भने सर्वाङ्ग स्वास्थ्य सदन प्रालिको  पान नम्बर ५००११७५०७ उल्लेख गरिएको छ ।

यसमध्ये पछिल्लाे अर्थात रातो बिलमा उल्लेख गरिएको १० लाख ३६ हजार रुपैया आफुहरुले अस्पताललाई तिरेको सिंहले मकालुखबरलाई बताए । परिवारले राजन खनालका नाममा काटिएका दुई वटा चेककाे फाेटाे उपलब्ध गराएकाे छ । बैक अफ काठमाडाैंमा रहेको सुरिन्द्र काैर लम्सालकाे खाताबाट २ लाख र एभरेष्ट बैंकमा रहेको चेतप्रसाद लम्सालको खाताबाट राजन खनालकै नाममा ६ लाख ४० हजार रुपैयाँका दुईवटा चेक काटिएको  छ ।

हेर्नुहोस् चेकको फोटो :-

यस्तै ५० हजार र ४६ हजार रुपैयाँ अस्पतालमा बुझाएका दुईवटा रिसिप्ट पनि परिवारसँग छन् । बाँकी रकम पनि अस्पताल बसाइका क्रममा पटकपटक गरि तिरिएको परिवारको दाबी छ ।

यी सबै प्रमाणहरुसहित महानगरीय प्रहरी परिसमा उजुरी गरिएको र प्रहरीले न्याय दिने विश्वासमा रहेको सिंहले बताए ।

त्यहाँबाट कीर्तिपुर अस्पताल भर्ना भएको र उक्त अस्पतालले २ घण्टाभित्र विभिन्न परीक्षण गरी अवस्था सामान्य रहेको रिपोर्ट दिएपछि सर्वाङ्गले ठगी गरेको पुष्टि भएको उजुरीकर्ता सिंहले बताएका छन् । विलबापत्को रकमको चेक पनि अस्पताल प्रशासनले अस्पतालको नाममा नभई लेखा विभागका कर्मचारी राजन खनालको नाममा काट्न लगाएको थियो ।

अस्पतालको नाममा मात्र चेक काट्ने बिरामी र परिवारको अडान लिएपछि अस्पतालले बिरामीले लगाइरहेको अक्सिजन पनि झिकेर राखेको उजुरीकर्ता सिंहको भनाइ छ ।

सुडानकाअनुसार अस्पतालले छुट भनेर दिएको २ लाख ५० हजार रुपैयाँ भने रवीन्द्र सिंहले आफूले अस्पताललाई तिरिदिएको भन्दै सिंहसँग मागिरहेको र धम्की समेत दिएका छन् । कमिसनका लागि यो घटनामा रवीन्द्र पनि अस्पतालसँग मिलेको उनको आरोप छ । सर्वाङ्ग अस्पतालले यसअघि पनि उपचारका लागि भर्ना भएकी एक बिरामीको परिवारसँग सात दिनको साढे ६ लाख रुपैयाँको बिल थमाएको थियो । तनहुँको घिरिङ्ग गाउँपालिका- १ का चन्द्रबहादुर क्षेत्रीलाई कोभिड संक्रमित श्रीमतिलाई उपचारका लागि भर्ना गरेको ७ दिनमा सर्वाङ्ग अस्पतालले  ६ लाख ३९ हजार ७०० रुपैयाँको बिल दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *