कोभिडले लग्यो श्रीमती, सर्वाङ्ग अस्पतालले दियो ७ दिनको साढे ६ लाखको बिल

काठमाडौं । ललितपुरको कुपण्डोलमा रहेको सर्वाङ्ग हस्पिटल (सर्वाङ्ग स्वास्थ्य सदन)ले कोभिड-१९ को उपचार गराउन गएका बिरामीसँग मनमौजी चर्को शुल्क लिएको बिरामीका आफन्तले आरोप लगाएका छन् ।

श्रीमतीलाई उपचारका लागि भर्ना गरेका हाल सातदोबाटो, विशाल चोक बस्दै आएका तनहुँको घिरिङ्ग गाउँपालिका- १ का चन्द्रबहादुर क्षेत्रीले सर्वाङ्ग अस्पतालले ७ दिनमा ६ लाख ३९ हजार ७०० रुपैयाँको बिल दिएको बताएका छन् । २ लाख रुपैयाँ डिपोजिट गरेर बिरामी भर्ना गरेको तर अचाक्ली धेरै बिल दिएकाले थप रकम तिर्न नसकेको उनको भनाइ छ । उनकी श्रीमती शान्ति क्षेत्रीको उपचारकै क्रममा निधन भएको छ । बिरामीको निधन भएको र बिलमा अक्सिजन नेबुलाइजर शीर्षकमा मात्र ३ लाख ६४ हजार रुपैयाँ लागेको बिलमा उल्लेख गरिएको छ । ६ दिन आईसीयूमा र ६/७ घण्टा भेन्टिलेटरमा राख्दा यत्रो रकम कसरी आयो भनेर डिटेल बिल माग्दा अस्पतालले दिन नसकेको तर खर्च यति नै लागेको जिकीर मात्र गर्ने गरेको चन्द्रबहादुरले बताए ।

चन्द्रबहादुरले मकालु खबरलाई दिएको विवरण जस्ताको तस्तै-
जेठ २ गते श्रीमती शान्तिको कोभिड परीक्षण गराएकोमा त्यहि राती रिपोर्ट पोजेटिभ आयो । भोलिपल्ट उनलाई टेकु अस्पताल लिएर गयौं । त्यहाँ दुई दिन उपचार गराएपछि आईसीयू चाहिने जानकारी दिइयो । काठमाडौंका अस्पतालमा अहिले आईसीयू पाउन एकदमै गाह्रो छ । चिनेजानेका सबैलाई हारगुहार गरेर डेढ दिन अथक प्रयत्न गरेपछि बल्ल सर्वाङ्ग हस्पिटलमा आईसीयू खाली पाइयो । जेठ ५ गते दिउँसो ३ बजेतिर बिरामीलाई सर्वाङ्ग हस्पिटल लग्यौँ । र आईसीयूमा भर्ना गर्यौं । ७ गतेसम्म हामीलाई बिरामीसँग भेट्न दिइयो, अवस्था त्यस्तो खराब थिएन, उनी मज्जाले बोल्थिन् । ८ गतेदेखि हामीलाई भेट्न दिइएन । जेठ ११ गते बेलुकीतिर डाक्टरले बिरामीको अवस्था जटिल बनेकाले भेन्टिलेटरमा राख्नुपर्ने बताउनुभयो । हामीले हुन्छ भन्यौं । विकल्प के नै थियो र ? तर त्यसको ६/७ घण्टाजति पछि राति नै बिरामीको मृत्यु भएको जानकारी गराइयो ।

श्रीमतीको निधन भएको पीर एकातिर थियो, अर्कातिर अस्पतालले दिएको बिलले अर्को र चर्को तनाव दियो । अस्पतालले हामीलाई ६ लाख ३९ हजार ७०० रुपैयाँको बिल दियो । हामीले बिरामी भर्ना गर्दा २ लाख रुपैयाँ डिपोजिट गरेका थियौँ‚ एक लाख रुपैयाँ नगद र एकलाख बैंक खाताबाट, (हेर्नुहोस् अस्पतालले दिएको रिसिप्ट र बैंक ट्रान्सफरको प्रमाण)

No description available.

No description available.

उपचारका क्रममा लागेको औषधि हामीले अस्पतालकै फार्मेसीमा बेग्लै पैसा तिरेर किनेका थियौं, जम्मा ६५ हजार जति लाग्यो होला । अस्पतालले सामान्य किराना पसलकाे जस्ताे बिल दियो । त्यो पनि केरमेट गरेको । हामीले अर्को बिल माग्दा पनि दिएन । पैसा अस्वभाविक धेरै आएको भन्दै हामीले के केमा खर्च भएको भन्ने डिटेल बिल माग्यौँ तर अस्पतालले दिन सकेन ।
म निजी विद्यालयमा पढाउने शिक्षक हुँ । म शारीरिक रुपमा अपांगता भएको व्यक्ति पनि हुँ । त्यत्रो पैसा तिर्न सक्ने अवस्था छैन । अर्को कुरा‚ ७ दिनमा कसरी साढे ६ लाख रुपैयाँ उठ्छ ? सर्वाङ्ग एउटा औसत अस्पतालमात्र हो । हामीले अस्ति २ लाख बुझाएको र अब थप दिन सक्ने केही रकम थप्छाैँ  भन्यौँ तर अस्पताल प्रशासनले मानेन । अस्पतालले बिरामीलाई ल्याएकै दिनदेखि भेन्टिलेटरमा राखेको घण्टाको २०/२५ किलो अक्सिजन दिएको भनियो । जबकी मलाई ६/७ घण्टा अघि मात्र भेन्टिलेटरमा राख्नुपर्ने भो भनेर डाक्टरले भनेका हुन् । शुरुका केही दिन त मैले नै बिरामीलाई भेटेको हुँ, भेन्टिलेटरमा राखिएकै थिएन । अवस्था त्यस्तो बिग्रिएको पनि थिएन । तर अन्तिममा भेट्नै नपाई निधनको खबर सुनाइयो ।

हामीले पैसा तिर्न नसक्ने भनेपछि अस्पतालका निर्देशकले १५ प्रतिशत डिस्काउन्ट गरिदिने भनेर बिल घटाइदिए । त्यसो गर्दा पनि ५ लाख ७५ हजार ५ सय ३० रुपैयाँ तिर्नुपर्ने भयो । त्यो पनि कम थिएन । दिनको औसतमा दिनको ८० हजारभन्दा बढी थियो । यो त अचाक्ली भएन र ?

No description available.

श्रीमतीको मृत्यु भएको तनावका बिच हामीले उहाँहरुलाई रकम घटाइदिन अनुनय/विनय गर्दै दिन बितायौँ । त्याे रात म अस्पतालमै बसें । त्यो रात मलाई एकदमै डर पनि लाग्यो । एकातिर श्रीमती गुमाएको पीरले थलिएको थिएँ‚ अर्कातिर अस्पतालमै बस्नुपर्छ भने । त्यत्रो पैसा कसरी निकाल्ने भन्ने तनाव पनि भयो । रातभरि डर लाग्यो । भोलिपल्ट नेपाली सेनाको टोली आयो र शव व्यवस्थापन गर्‍यो ।

त्यहि दिन मेरा आफन्तहरू हामीले दिन सक्ने केही रकम दिन्छाैँ भनेर अस्पताल जानुभएको थियो । तर सबै नभई पैसा नबुझ्ने भनेर पैसा नलिई फर्काइएछ । त्यसपछि एभेन्युज टेलिभिजनमा पनि मैले म केही रकम दिन सक्छु सबै तिर्न सक्दिन भनें । किनभने अस्पतालले अस्वभाविक रुपमा बिल देखाएकाे छ ।

अस्पतालले दिएको बिल मेरो एकजना साथीले यति धेरै पैसा कसरी उठ्छ भनेर उहाँले बिल फेसबुकमा राखेपछि अस्पतालले प्रहरी कार्यालयलाई बोधार्थ दिएर विज्ञप्ति निकालेको भन्ने सुनेको छु । जसमा उपचारका लागि पैसा नै नतिरेको भन्ने लेखिएको रहेछ । जबकी २ लाख रुपैयाँ तिरेको त मैले नै हो । एक लाख नगद र एक लाख मोबाइलबाट ट्रान्सफर गरेको हो ।शुक्रबार दिउँसाे अस्पतालले हामीले अहिलेसम्म कुनै रकम नै नतिरेकाे र  सम्पर्कविहीन भएकाे भन्ने आशयकाे विज्ञप्ति निकालेपछि म यसबारे तपाइँलाई सत्यतथ्य जानकारी गराउन बाध्य भएकाे हुँ । आज बिहानपनि म याे समस्या कसरी समाधान गर्न सकिन्छ भनेर भाइ लगायत आफन्तहरुसँग छलफल नै गरिरहेकाे थिएँ ।

हामीले खर्च भएको विस्तृत विवरण देऊ भन्दा दिन नसकेको र सकेकाे जति थप्छौँ भन्दा लिन नमानेको हो । अझ पैसा नतिरेको भन्नु हामीमाथिको अन्याय र झुट हो । अस्पतालका जिम्मेवार व्यक्तिले त बिल पनि हामीले बनाएको होइन भनेछन् । त्यो सरासर झुट हो । बिल हामीले कहाँबाट ल्यायौँ त ? त्यहीबेला बिलमा धेरै केरमेट भयो अर्को दिनुहोस् भन्दा यहि हो बिल भनेर दिन मान्नुभएन । यसरी उहाँहरुले बिरामीमाथि ब्रह्मलुट गर्नुभयो र दुःखमाथि दुख थप्ने काम भयो । अझ हाम्रो बेइज्जत गर्दै हामीलाई नक्कली बिल ल्याएको पनि भन्न भ्याउनुभएछ । यो हामीमाथिको अन्याय हो । हामी उपचारका लागि गएका हौं । अस्पतालमा हाम्रो मान्छेको मृत्यु त भयो भयो‚ उपचार खर्च र त्यसपछिको यो आरोप प्रत्यारोपले दोहोरो दुःख थपेको छ ।

यसबारेमा बुझ्न हामीले अस्पतालका निर्देशक सुशिल खनालसँग सम्पर्क गर्यौंं, उनले भने- ‘हामी यस्तो जोखिमका बेलामा पनि जनतालाई स्वास्थ्य सुविधा उपलब्ध गराइरहेका छौं । तर, उहाँहरुले यो विषयलाई अनावश्यक बढाइचढाई गर्नुभयो । जसमा सत्यता छैन । हाम्रोविरुद्ध कसैले उहाँहरुलाई उचालेको हुनसक्छ । स्वास्थ्य क्षेत्रमा पनि अनेकौ खालका मान्छे छन् । उहाँहरुको बिरामीको उपचारका क्रममा निधन भयो । उहाँहरुले आर्थिक अवस्था राम्रो नभएकाले रकम तिर्न सक्दैनौँ भन्नुभयो । मानवीय हिसाबले पनि हामीले पैसा पछि दिनुहोला भनेर शव व्यवस्थापन गर्न दिएका हौँ । पैसा तिर्नै नसक्ने अवस्था हो भने हामीले पनि सामाजिक दायित्व सम्झनुपर्ने हुन्छ भन्नेमा हामी सहमत नै थियौँ । तर, उहाँहरुले त नक्कली बिल सार्वजनिक गर्नुभयो । फेसबुकमा हाल्नुभयो । त्यो बिल हामीले दिएकै होइन । अस्पतालले त बकाइदा प्यान नम्बर भएको बिल दिन्छ नि ! त्यो बिल नक्कली हो । सामाजिक सञ्जालमा बिल राखेर अस्पतालको प्रतिष्ठामै आँच पुर्‍याएपछि हामीले प्रहरीलाई पनि बोधार्थ दिएर विज्ञप्ति निकाल्नुपरेको हो । हामी समस्या चर्काउन होइन समाधान गर्न तयार छौं ।’

No description available.
अस्पतालले निकालेको विज्ञप्ति ।

सर्वाङ्ग अस्पतालले बढी पैसा लिएको अर्का बिरामीका परिवारको  पनि गुनासो

सर्वाङ्ग स्वास्थ्य सदनमा बिरामीलाई मनोमानी पैसा असुल्ने गरिएको आरोप यो नै पहिलो भने होइन । यसअघि कुपण्डोलका इन्द्र सिंहलाई पनि अस्पतालले धेरै रकम लिएको उनको परिवारले बताएको थियो । कोभिड संक्रमण भएका उनलाई उपचारका लागि अस्पताल लगिएकोमा अस्पतालले बिरामीको अवस्था गम्भीर भन्दै आईसीयूमा १८ दिनसम्म राखेर १२ लाख ८६ हजार ५ सय रुपैयाँको बिल दिएको परिवारले दावी गरेका खबर प्रकाशित भएको थियो ।

प्रतिक्रिया

2 thoughts on “कोभिडले लग्यो श्रीमती, सर्वाङ्ग अस्पतालले दियो ७ दिनको साढे ६ लाखको बिल

  1. त्यसैले रोग लागेपछी उपचार गराउनु भन्दा स्वस्थ रहनु नै उत्तम उपाय हो ।स्वास्थ्य नै सर्बोत्तम धन हो ।

    1. रोग लाग्ननै नदिनु राम्रो भनेर सबैलाइ थाहा छ। स्वास्थ्य नै सर्बोत्तम धन हो, भनेर बिरामि को आफन्तलाइ लुट्ने तरिकाले पैसा वशुल्ने पनि राम्रो होइन नि। प्रमाण बाहेक ७ दिन मा ६ लाख लिने भनेको लुट्नु जस्तै हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *