कोभिडले लग्यो श्रीमती, सर्वाङ्ग अस्पतालले दियो ७ दिनको साढे ६ लाखको बिल

काठमाडौं । ललितपुरको कुपण्डोलमा रहेको सर्वाङ्ग हस्पिटल (सर्वाङ्ग स्वास्थ्य सदन)ले कोभिड-१९ को उपचार गराउन गएका बिरामीसँग मनमौजी चर्को शुल्क लिएको बिरामीका आफन्तले आरोप लगाएका छन् ।

श्रीमतीलाई उपचारका लागि भर्ना गरेका हाल सातदोबाटो, विशाल चोक बस्दै आएका तनहुँको घिरिङ्ग गाउँपालिका- १ का चन्द्रबहादुर क्षेत्रीले सर्वाङ्ग अस्पतालले ७ दिनमा ६ लाख ३९ हजार ७०० रुपैयाँको बिल दिएको बताएका छन् । २ लाख रुपैयाँ डिपोजिट गरेर बिरामी भर्ना गरेको तर अचाक्ली धेरै बिल दिएकाले थप रकम तिर्न नसकेको उनको भनाइ छ । उनकी श्रीमती शान्ति क्षेत्रीको उपचारकै क्रममा निधन भएको छ । बिरामीको निधन भएको र बिलमा अक्सिजन नेबुलाइजर शीर्षकमा मात्र ३ लाख ६४ हजार रुपैयाँ लागेको बिलमा उल्लेख गरिएको छ । ६ दिन आईसीयूमा र ६/७ घण्टा भेन्टिलेटरमा राख्दा यत्रो रकम कसरी आयो भनेर डिटेल बिल माग्दा अस्पतालले दिन नसकेको तर खर्च यति नै लागेको जिकीर मात्र गर्ने गरेको चन्द्रबहादुरले बताए ।

चन्द्रबहादुरले मकालु खबरलाई दिएको विवरण जस्ताको तस्तै-
जेठ २ गते श्रीमती शान्तिको कोभिड परीक्षण गराएकोमा त्यहि राती रिपोर्ट पोजेटिभ आयो । भोलिपल्ट उनलाई टेकु अस्पताल लिएर गयौं । त्यहाँ दुई दिन उपचार गराएपछि आईसीयू चाहिने जानकारी दिइयो । काठमाडौंका अस्पतालमा अहिले आईसीयू पाउन एकदमै गाह्रो छ । चिनेजानेका सबैलाई हारगुहार गरेर डेढ दिन अथक प्रयत्न गरेपछि बल्ल सर्वाङ्ग हस्पिटलमा आईसीयू खाली पाइयो । जेठ ५ गते दिउँसो ३ बजेतिर बिरामीलाई सर्वाङ्ग हस्पिटल लग्यौँ । र आईसीयूमा भर्ना गर्यौं । ७ गतेसम्म हामीलाई बिरामीसँग भेट्न दिइयो, अवस्था त्यस्तो खराब थिएन, उनी मज्जाले बोल्थिन् । ८ गतेदेखि हामीलाई भेट्न दिइएन । जेठ ११ गते बेलुकीतिर डाक्टरले बिरामीको अवस्था जटिल बनेकाले भेन्टिलेटरमा राख्नुपर्ने बताउनुभयो । हामीले हुन्छ भन्यौं । विकल्प के नै थियो र ? तर त्यसको ६/७ घण्टाजति पछि राति नै बिरामीको मृत्यु भएको जानकारी गराइयो ।

श्रीमतीको निधन भएको पीर एकातिर थियो, अर्कातिर अस्पतालले दिएको बिलले अर्को र चर्को तनाव दियो । अस्पतालले हामीलाई ६ लाख ३९ हजार ७०० रुपैयाँको बिल दियो । हामीले बिरामी भर्ना गर्दा २ लाख रुपैयाँ डिपोजिट गरेका थियौँ‚ एक लाख रुपैयाँ नगद र एकलाख बैंक खाताबाट, (हेर्नुहोस् अस्पतालले दिएको रिसिप्ट र बैंक ट्रान्सफरको प्रमाण)

उपचारका क्रममा लागेको औषधि हामीले अस्पतालकै फार्मेसीमा बेग्लै पैसा तिरेर किनेका थियौं, जम्मा ६५ हजार जति लाग्यो होला । अस्पतालले सामान्य किराना पसलकाे जस्ताे बिल दियो । त्यो पनि केरमेट गरेको । हामीले अर्को बिल माग्दा पनि दिएन । पैसा अस्वभाविक धेरै आएको भन्दै हामीले के केमा खर्च भएको भन्ने डिटेल बिल माग्यौँ तर अस्पतालले दिन सकेन ।

म निजी विद्यालयमा पढाउने शिक्षक हुँ । म शारीरिक रुपमा अपांगता भएको व्यक्ति पनि हुँ । त्यत्रो पैसा तिर्न सक्ने अवस्था छैन । अर्को कुरा‚ ७ दिनमा कसरी साढे ६ लाख रुपैयाँ उठ्छ ? सर्वाङ्ग एउटा औसत अस्पतालमात्र हो । हामीले अस्ति २ लाख बुझाएको र अब थप दिन सक्ने केही रकम थप्छाैँ  भन्यौँ तर अस्पताल प्रशासनले मानेन । अस्पतालले बिरामीलाई ल्याएकै दिनदेखि भेन्टिलेटरमा राखेको घण्टाको २०/२५ किलो अक्सिजन दिएको भनियो । जबकी मलाई ६/७ घण्टा अघि मात्र भेन्टिलेटरमा राख्नुपर्ने भो भनेर डाक्टरले भनेका हुन् । शुरुका केही दिन त मैले नै बिरामीलाई भेटेको हुँ, भेन्टिलेटरमा राखिएकै थिएन । अवस्था त्यस्तो बिग्रिएको पनि थिएन । तर अन्तिममा भेट्नै नपाई निधनको खबर सुनाइयो ।

हामीले पैसा तिर्न नसक्ने भनेपछि अस्पतालका निर्देशकले १५ प्रतिशत डिस्काउन्ट गरिदिने भनेर बिल घटाइदिए । त्यसो गर्दा पनि ५ लाख ७५ हजार ५ सय ३० रुपैयाँ तिर्नुपर्ने भयो । त्यो पनि कम थिएन । दिनको औसतमा दिनको ८० हजारभन्दा बढी थियो । यो त अचाक्ली भएन र ?

श्रीमतीको मृत्यु भएको तनावका बिच हामीले उहाँहरुलाई रकम घटाइदिन अनुनय/विनय गर्दै दिन बितायौँ । त्याे रात म अस्पतालमै बसें । त्यो रात मलाई एकदमै डर पनि लाग्यो । एकातिर श्रीमती गुमाएको पीरले थलिएको थिएँ‚ अर्कातिर अस्पतालमै बस्नुपर्छ भने । त्यत्रो पैसा कसरी निकाल्ने भन्ने तनाव पनि भयो । रातभरि डर लाग्यो । भोलिपल्ट नेपाली सेनाको टोली आयो र शव व्यवस्थापन गर्‍यो ।

त्यहि दिन मेरा आफन्तहरू हामीले दिन सक्ने केही रकम दिन्छाैँ भनेर अस्पताल जानुभएको थियो । तर सबै नभई पैसा नबुझ्ने भनेर पैसा नलिई फर्काइएछ । त्यसपछि एभेन्युज टेलिभिजनमा पनि मैले म केही रकम दिन सक्छु सबै तिर्न सक्दिन भनें । किनभने अस्पतालले अस्वभाविक रुपमा बिल देखाएकाे छ ।

अस्पतालले दिएको बिल मेरो एकजना साथीले यति धेरै पैसा कसरी उठ्छ भनेर उहाँले बिल फेसबुकमा राखेपछि अस्पतालले प्रहरी कार्यालयलाई बोधार्थ दिएर विज्ञप्ति निकालेको भन्ने सुनेको छु । जसमा उपचारका लागि पैसा नै नतिरेको भन्ने लेखिएको रहेछ । जबकी २ लाख रुपैयाँ तिरेको त मैले नै हो । एक लाख नगद र एक लाख मोबाइलबाट ट्रान्सफर गरेको हो ।शुक्रबार दिउँसाे अस्पतालले हामीले अहिलेसम्म कुनै रकम नै नतिरेकाे र  सम्पर्कविहीन भएकाे भन्ने आशयकाे विज्ञप्ति निकालेपछि म यसबारे तपाइँलाई सत्यतथ्य जानकारी गराउन बाध्य भएकाे हुँ । आज बिहानपनि म याे समस्या कसरी समाधान गर्न सकिन्छ भनेर भाइ लगायत आफन्तहरुसँग छलफल नै गरिरहेकाे थिएँ ।

हामीले खर्च भएको विस्तृत विवरण देऊ भन्दा दिन नसकेको र सकेकाे जति थप्छौँ भन्दा लिन नमानेको हो । अझ पैसा नतिरेको भन्नु हामीमाथिको अन्याय र झुट हो । अस्पतालका जिम्मेवार व्यक्तिले त बिल पनि हामीले बनाएको होइन भनेछन् । त्यो सरासर झुट हो । बिल हामीले कहाँबाट ल्यायौँ त ? त्यहीबेला बिलमा धेरै केरमेट भयो अर्को दिनुहोस् भन्दा यहि हो बिल भनेर दिन मान्नुभएन । यसरी उहाँहरुले बिरामीमाथि ब्रह्मलुट गर्नुभयो र दुःखमाथि दुख थप्ने काम भयो । अझ हाम्रो बेइज्जत गर्दै हामीलाई नक्कली बिल ल्याएको पनि भन्न भ्याउनुभएछ । यो हामीमाथिको अन्याय हो । हामी उपचारका लागि गएका हौं । अस्पतालमा हाम्रो मान्छेको मृत्यु त भयो भयो‚ उपचार खर्च र त्यसपछिको यो आरोप प्रत्यारोपले दोहोरो दुःख थपेको छ ।

यसबारेमा बुझ्न हामीले अस्पतालका निर्देशक सुशिल खनालसँग सम्पर्क गर्यौंं, उनले भने- ‘हामी यस्तो जोखिमका बेलामा पनि जनतालाई स्वास्थ्य सुविधा उपलब्ध गराइरहेका छौं । तर, उहाँहरुले यो विषयलाई अनावश्यक बढाइचढाई गर्नुभयो । जसमा सत्यता छैन । हाम्रोविरुद्ध कसैले उहाँहरुलाई उचालेको हुनसक्छ । स्वास्थ्य क्षेत्रमा पनि अनेकौ खालका मान्छे छन् । उहाँहरुको बिरामीको उपचारका क्रममा निधन भयो । उहाँहरुले आर्थिक अवस्था राम्रो नभएकाले रकम तिर्न सक्दैनौँ भन्नुभयो । मानवीय हिसाबले पनि हामीले पैसा पछि दिनुहोला भनेर शव व्यवस्थापन गर्न दिएका हौँ । पैसा तिर्नै नसक्ने अवस्था हो भने हामीले पनि सामाजिक दायित्व सम्झनुपर्ने हुन्छ भन्नेमा हामी सहमत नै थियौँ । तर, उहाँहरुले त नक्कली बिल सार्वजनिक गर्नुभयो । फेसबुकमा हाल्नुभयो । त्यो बिल हामीले दिएकै होइन । अस्पतालले त बकाइदा प्यान नम्बर भएको बिल दिन्छ नि ! त्यो बिल नक्कली हो । सामाजिक सञ्जालमा बिल राखेर अस्पतालको प्रतिष्ठामै आँच पुर्‍याएपछि हामीले प्रहरीलाई पनि बोधार्थ दिएर विज्ञप्ति निकाल्नुपरेको हो । हामी समस्या चर्काउन होइन समाधान गर्न तयार छौं ।’

अस्पतालले निकालेको विज्ञप्ति

सर्वाङ्ग अस्पतालले बढी पैसा लिएको अर्का बिरामीका परिवारको  पनि गुनासो

सर्वाङ्ग स्वास्थ्य सदनमा बिरामीलाई मनोमानी पैसा असुल्ने गरिएको आरोप यो नै पहिलो भने होइन । यसअघि कुपण्डोलका इन्द्र सिंहलाई पनि अस्पतालले धेरै रकम लिएको उनको परिवारले बताएको थियो । कोभिड संक्रमण भएका उनलाई उपचारका लागि अस्पताल लगिएकोमा अस्पतालले बिरामीको अवस्था गम्भीर भन्दै आईसीयूमा १८ दिनसम्म राखेर १२ लाख ८६ हजार ५ सय रुपैयाँको बिल दिएको परिवारले दावी गरेका खबर प्रकाशित भएको थियो ।

प्रतिक्रिया

2 thoughts on “कोभिडले लग्यो श्रीमती, सर्वाङ्ग अस्पतालले दियो ७ दिनको साढे ६ लाखको बिल

  1. त्यसैले रोग लागेपछी उपचार गराउनु भन्दा स्वस्थ रहनु नै उत्तम उपाय हो ।स्वास्थ्य नै सर्बोत्तम धन हो ।

    1. रोग लाग्ननै नदिनु राम्रो भनेर सबैलाइ थाहा छ। स्वास्थ्य नै सर्बोत्तम धन हो, भनेर बिरामि को आफन्तलाइ लुट्ने तरिकाले पैसा वशुल्ने पनि राम्रो होइन नि। प्रमाण बाहेक ७ दिन मा ६ लाख लिने भनेको लुट्नु जस्तै हो।

Leave a Reply to Devika Rajopadhyaya Cancel reply

Your email address will not be published. Required fields are marked *