निषेधाज्ञा उल्लंघन गर्ने २७४६ सवारी साधन प्रहरीको नियन्त्रणमा

काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ७ सय ४६ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तीमध्ये ७ सय ९४ वटा गाडी र १ हजार ९ सय ५२ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको प्रहरीले जनाएको छ ।
साथै नयाँ भेरियन्ट सहितको कोभिड(१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा १ सय ५६ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ ।
कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५६ हजार ४ सय ७१ जनालाई निःशुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने १ सय ९३ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा १९ हजार ३ सय रुपैयाँ जरिवाना गरिएको छ ।
सो क्रममा १ हजार ८ सय ११ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ५६ वटा सचेतनामूलक कार्यक्रमअन्तर्गत ४ हजार ६ सय ५६ जनालाई सचेत गराइएको प्रहरीले जनाएको छ ।
निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकायलगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तीव्रता दिएको जनाएको छ ।









