महानगरले कोरोना प्रभावितलाई आर्थिक सहयोग गर्ने

काठमाडौं । ललितपुर महानगरपालिकाले कोरोना प्रभावित व्यक्तिहरुलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै महानगरले अस्पताल भर्ना भएर कोरोना संक्रमणमुक्त भएका व्यक्तिलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको हो ।
त्यस्तै आइसीयू वा भेन्टिलेटरमा रही उपचार गरेर निको भएकालाई ५० हजार रुपैयाँ प्रदान गरिने महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए । कोरोनाको दोस्रो महामारी सुरु भएपछि कोरोना संक्रमित ज्यान गुमाउनु परेका व्यक्तिका परिवारलाई १ लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय भएको उनले बताए ।
उक्त सहयोग महानगरभित्रका स्थायी बसोवास गरेका नागरिकलाई प्रदान गरिन महर्जनले जानकारी दिए । त्यस्तै महानगरले प्रत्येक वडामा पिसिआर र एन्टीजेन परीक्षणको व्यवस्था गरेको तथा विभिन्न स्थानमा आइसोलेशन पनि सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ ।
नागरिकको स्वास्थ्य र सुरक्षा अहिलको आवश्यकता त्यसपछिमात्रै विकास प्राथमिकता भन्ने उदेश्यका साथ महानगरले कोरोना नियन्त्रण र उपचारका लागि केन्द्रित भएर काम गरेको प्रमुख महर्जनले बताए ।
महर्जनले निषेधाज्ञाका कारण समस्यामा परेका नागरिकको सहयोगमा पनि महनगर जुटेको उल्लेख गरे । उनले कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको मापदण्ड पाालना गर्न पनि आग्रह गरे ।









