‘डिजिटल नेपाल’ प्रवर्द्धन गर्दै सरकार : प्रधानमन्त्रीले अनलाइनबाटै २ बैंकमा खोले खाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दुई ओटा बैंकमा अनलाइनबाटै खाता खोलेका छन् । नेपाल बैंक लिमिटेड र सिद्धार्थ बैंकमा प्रधानमन्त्री ओलीले अनलाइनमार्फत् खाता खोलेका हुन् ।

अनलाइन वा डिजिटल प्रविधि निकै द्रुत भएको भन्दै प्रधानमन्त्रीले भने– अहिले भर्खरै खाता खोलेको र अहिले भर्खरै खाता नम्बर प्राप्त भइसकेको छ । अब अनलाइनबाटै केवाइसी भर्ने काम पनि हुने छ ।’

देशका हरेक क्षेत्रलाई डिजिटलाइज्ड गर्दै जाने सरकारको नीति रहेको भन्दै उनले अब पेपरलेस अवधारणाबाट अधि बढ्नु पर्ने बताए ।

चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७८ को अवसरमा सूचना तथा प्रविधि मन्त्रालयले आयोजना गरेको औपचारिक भर्चुअल समारोहका अवसरमा प्रधानमन्त्री ओलीले अनलाइनबाट खाता खोलेका हुन् ।

‘समृद्ध नेपालको आधार, सूचना तथा सञ्चार प्रविधिको विस्तार भन्ने मुल नाराका साथ’ दिवस मनाउने भर्चुअल कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले थप सरकारी सेवा सुविधासहितको नागरिक एपको औपचारिक रुपमा शुभारम्भ गरेका छन् । यस अघि नागरिक एप बेटा भर्सनमा सुरु गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री उनले इन्टरनेतलाई अत्यावश्यक सेवामा राखिएको बताए । सबै स्थानीय, तह, वडा कार्यालयहरुमा इन्टरनेट पुर्याउने, सबै विद्यालयमा इन्टरनेट पुर्याउने, सबै प्रदेशमा डाटा सेन्टर स्थापना गर्ने कार्यले नेपाललाई डिजिटल नेपाल तर्फ लान सकिने उनले बताए । देशका ८ प्रमुख क्षेत्र र ८० ओटा उपक्षेत्रका कार्यसम्पादन र सेवा प्रवाहलाई डिजिटलाइज्ड गर्ने गरी नेपालले डिजिटल नेपाल फ्रेमवर्क २०७६ पारित गरेर कार्यान्वयनमा लान खोजिरहेको छ ।

प्रधानमत्री ओलीले आजैबाट नेपाल टेलिकमले फाइभ जी सेवाको परीक्षण सुरु गर्ने बताए । सरकारले हालसम्म ७७ ओटै जिल्लामा फोर जी सेवा विस्तार गरिसकेको जनाएको छ । अब फाइभजीतर्फ अघि बढेको हो । त्यस्तै, नेपाल टेलिकमले प्रवद्र्धन गरेको डिजिटल पेइमेन्ट गेटवे ‘नमस्ते पे’ को पनि परीक्षण सुरु गरिने भएको छ ।

सरकारले अब सवारी कर, घरजग्गा कर, मालपोत, पानी, बिजुलीलगायतका सेवाका बिल भुक्तानीलगायक सकिने जति हरेक सेवालाई अनलाइन प्रणालीमा लाने भएको जानकारी पनि कार्यक्रममा प्रधानमन्त्री ओलीले बताए ।

कार्यक्रममा सञ्चार मन्त्री पार्वत गुरुङ, इन्टरनेट सेवा प्रदायक, कम्युटर एशोसिएशन नेपाललगायत सूचना तथा प्रविध क्षेत्रका प्रतिनिधिहरुको समेत उपस्थिति छ । सरकारले २ मे लाई सूचना सञ्चार तथा प्रविधि दिवसको रुपमा मनाउँदै आएको छ ।

याे पनि –कोभिड कहर: डिजिटल कारोबार फस्टाउने अवसर

कोभिड कहर: डिजिटल कारोबार फस्टाउने अवसर

प्रतिक्रिया