कोभिड कहर: डिजिटल कारोबार फस्टाउने अवसर

काठमाडौं । गत आर्थिक वर्षका १२ महिनामा बैंक तथा वित्तीय संस्थाका एटीएम मेसिनबाट ५४ अर्ब ७६ करोड रुपैयाँको भुक्तानी भएको थियो । चालू आर्थिक वर्षको ८ महिना (साउनदेखि फागुनसम्म) मै यस्तो भुक्तानी ६० अर्ब ७१ करोड रुपैयाँको भइसकेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

त्यस्तै, गत आर्थिक वर्षमा मोबाइल बैंकिङमार्फत कुल १८ अर्ब ८४ करोड रुपैयाँको भुक्तानी कारोबार भएकोमा चालू आर्थिक वर्षको ८ महिनामै ४० अर्ब ३६ करोड रुपैयाँको भुक्तानी कारोबार भइसकेको छ । यसमा चालू आर्थिक वर्षको अन्तिम चौमासिक तथ्यांक समावेश हुन बाँकी नै छ । त्यसो हुँदा एटीएम र मोबाइल बैंकिङबाट हुने कारोबारमा गत वर्षकोभन्दा धेरै नै वृद्धि हुने अनुमान लगाउन सकिन्छ ।एटीएम र मोबाइल बैंकिङ डिजिटल भुक्तानीका दुई छुट्टाछुट्टै र प्रचलनमा रहेका उपकरण हुन् । यीसहित डिजिटल बैंकिङ कारोबारमा इन्टरनेट बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, आरटीजीएस, ईसीसी, कनेक्ट आईपीएस, क्युआर कोड, वालेट जस्ता उपकरणको प्रयोग उच्च बन्दै गएको तथ्यांकले देखाएको छ ।

स्वेच्छिक हैन, अब बाध्यात्मक बन्दै
हाल काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा सरकारले निषेधाज्ञा घोषणा गरेको छ । बुधबार मात्रै बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुसँग छलफल गरेर राष्ट्र बैंकले विद्युतीय कारोबारलाई जोड दिने निर्णय गरेको छ ।

गभर्नर महाप्रसाद अधिकारी भन्छन्- ‘कोभिड-१९ को दोस्रो लहरमा हुने निषेधाज्ञाको अवधिमा हामीले सकेसम्म विद्युतीय कारोबारलाई नै प्राथमिकता दिनुपर्छ । बैंकका शाखा र एटीएम बुथहरु सबै खोल्ने त निर्णय गरेका छौं । तर, संक्रमणको जोखिमलाई ध्यान दिएर घरैबाट कारोबार गर्न सकिने विद्युतीय माध्यम अनाउन सके सबैका लागि लाभदायक हुनेछ ।’

गभर्नर अधिकारीसँगको छलफलपछि नेपाल बैंकर्स संघले विज्ञप्ती निकालेर डिजिटल बैंकिङ सेवाको प्रयोग गर्न आग्रह गरेको छ । ‘सम्भब भएसम्म नोट कारोबारको सट्टा डिजिटल बैंकिङ्ग सेवाको अझ बढी प्रयोग गर्नुहुन अनुरोध गर्दछौं,’ संघले भनेको छ, ‘अत्यावश्यक अवस्थामा बाहेक बैंकको शाखामा नआई भिडभाड कम गर्नका निमित्त सहयोग गरिदिनुहुन समस्त ग्राहकमा अनुरोध गर्दछौं ।’

कोभिड आउनुअघि बाटै डिजिटल कारोबार बढाउन नेपाल राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थाका आधारमा बैंक तथा वित्तीय संस्थाले विकास र विस्तार गरेको पूर्वाधारले पनि यस्तो कारोबार विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

तर, राष्ट्र बैंकको प्रोत्साहनको नीतिले भन्दा बढी कोभिड-१९ संक्रमणको जोखिमले डिजिटल कारोबार बढाएको छ । कोभिड नहुँदा भेटेरै वा बैंकमा पुगेरै गरिने नगद कारोबारले स्वास्थ्यमा जोखिम थिएन । त्यसो हुँदा विद्युतीय कारोबार नागरिकका लागि स्वैच्छिक थियो तर, कोभिडको जोखिमका कारण अब डिजिटल कारोबार एक हिसाबले अनिवार्य नै बनेको छ ।

२०७६ चैत ११ मा भएको लकडाउनपछि डिजिटल कारोबारमा भारी वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । पछिल्लो समय एटीएमको तुलनामा मोबाइल बैंकिङ र इन्टरनेटमार्फत हुने कारोबारको वृद्धि बढी भएको देखिन्छ । खास गरी एटीएम कार्ड लिएर एटीएम बुथमा जानुपर्ने र एटीएम मेसिनमा कार्ड छिराएर कारोबार गर्दा कोभिड-१९ को संक्रम बढी हुने भएपछि त्योभन्दा सुरक्षित उपायका रुपमा आफ्नै मोबाइल र कम्प्युटरमार्फत गर्न सकिने कारोबारमा वृद्धि भएको हो ।डिजिटल नेपाल निर्माणमा सहयोगी
भौतिक मुद्रा वा नोटको कारोबारलाई कम गर्दै अभौतिक वा डिजिटल कारोबारलाई बढाउँदै नगदरहित अर्थतन्त्र (क्यासलेस इकोनोमी) को विकास गर्ने लक्ष्य राष्ट्र बैंकले अघि सारेको छ ।

त्यही लक्ष्य प्राप्तिका लागि राष्ट्र बैंकले नगदरहित कारोबार वा डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको छ । सरकारले कार्यान्वयनमा ल्याउन लागेको ‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ लाई सघाउन पनि राष्ट्र बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको छ । पछिल्लो समय नुनदेखि सुन पसलसम्ममा विभिन्न बैंकका क्युआर कोड वितरण गरी क्यासलेस कारोबारलाई राष्ट्र बैंकले प्रोत्साहन गरेको छ । यसले डिजिटल कारोबार बढाएको छ ।

सबै नेपालीमा मोबाइल फोनको पहुँच पुगेको, ६० प्रतिशतभन्दा बढी नेपालीमा इन्टरनेटको पहुँच पुगेको, फेसबुक प्रयोगकर्ताको संख्या १ करोडभन्दा बढी पुगिसकेको जस्ता सूचकले नेपालमा अब डिजिटल वा विद्युतीय कारोबारलाई व्यापक बनाउन सकिने देखिएको पनि छ ।

प्रतिक्रिया