सिमेक्स इंकको दाबी- कर परिवर्तनबाट लाभ लिएको आरोप पूर्णतः निराधार

काठमाडौँ । अनधिकृत भन्सार व्यवस्थाबाट लाभ नलिएको सिमेक्स इंकले स्पष्ट पारेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै बीवाइडी विद्युतीय सवारीसाधन आयात सम्बन्धमा सिमेक्स इंकले स्पष्टीकरण दिएको हो ।

हाल आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि नेपाल भित्रिएका तथा भन्सार जाँचपास भएका विद्युतीय सवारी साधन सम्बन्धमा विभिन्न सञ्चार माध्यम तथा सार्वजनिक वृत्तमा भएका चासोप्रति साइमेक्स इंकको ध्यानाकर्षण भएको जनाएको छ ।

‘कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकता प्राप्त प्रक्रिया वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ नलिएको छैन, न त त्यस्तो कुनै व्यवस्थाका लागि अनुरोध गरेको वा प्राप्त गरेको छ। नेपालमा बीवाईडीका सवारीसाधनको आधिकारिक वितरकका रूपमा साइमेक्स इंक यस विषयमा विभिन्न तथ्यहरू स्पष्ट पार्दै कानुनको पालना, पारदर्शिता तथा नैतिक व्यावसायिक अभ्यासप्रतिको आफ्नो अटल प्रतिबद्धता पुनः व्यक्त गर्न चाहन्छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

यसका अतिरिक्त, २२६ वटा सवारीसाधन चीनतर्फको भन्सार क्षेत्रमा आइपुगेका भए पनि हालसम्म भन्सार जाँचपास प्रक्रिया सम्पन्न भएको बताइएको छ ।

हाल विभिन्न सञ्चारमाध्यममा उल्लेख गरिएका सवारीसाधनहरू नेपाल सरकारका प्रचलित कानुन, भन्सारसम्बन्धी नियमावली तथा प्रक्रियाअनुसार पूर्ण रूपमा आयात तथा जाँचपास गरिएको बताइएको छ ।

कम्पनीका अनुसार ग्राहकबाट पहिले नै बुकिङ सुनिश्चित भइसकेका कारण ती बुकिङ पुरा गर्न तथा नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो माग सम्बोधन गर्न यी सवारी साधन आयात गरिएका हुन् । यी सम्पूर्ण आयात कार्यहरू बीवाईडीको उत्पादन तालिका, ढुवानी उपलब्धता, नियमित व्यावसायिक योजना, तथा यातायात र ढुवानी व्यवस्थापनसम्बन्धी चुनौतीहरूलाई ध्यानमा राखेर सम्पन्न गरिएका बताइएको छ ।

‘सम्पूर्ण आयात तथा भन्सार प्रक्रिया नेपालका प्रचलित कानुन तथा नियामकीय व्यवस्थाअनुसार नै सम्पन्न गरिएको हो । साइमेक्स इंकले सरकारी निकायसँग समन्वय गरी कर परिवर्तनबाट बच्न खोजेको वा कुनै अनुचित लाभ लिएको भन्ने आरोप पूर्णतः निराधार, असत्य तथा कम्पनीको प्रतिष्ठामा आघात
पुर्‍याउने खालका हुन् ।’ विज्ञप्तिमा भनिएको छ ।

साइमेक्स इंकले कुनै पनि वैधानिक अनुसन्धान वा छानबिनलाई स्वागत गर्ने बताएको छ । सत्य तथ्य स्थापित गर्न आवश्यक सम्पूर्ण कागजातहरू— आयात सम्बन्धी रेकर्ड, भन्सार घोषणा विवरण, ढुवानी अभिलेख, सीमा प्रवेशसम्बन्धी कागजात, भुक्तानी विवरण तथा जाँचपास स्वीकृतिसम्बन्धी दस्ताबेजहरू—सम्बन्धित निकायलाई उपलब्ध गराउन पूर्ण रूपमा तयार रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =