पशुपति दर्शनमा रोक

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथको मन्दिरमा दर्शनार्थीलाई दर्शन गर्न रोक लगाएको छ ।

बिहीबार कोषले विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण नियन्त्रणका लागि शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि पशुपतिलगायतका मन्दिरमा दर्शन गर्न दर्शनार्थीलाई रोक लगाएको हो ।

‘वैशाख १० गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि श्री पशुपतिनाथको मन्दिर, गुहेश्वरी मन्दिरलगायतका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी व्यवस्था मिलाइएकोले,’ कोषद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । यसबाट भक्तजनहरूलाई पर्न गएको असुविधाप्रति पशुपति क्षेत्र विकास कोष क्षमाप्रार्थी छ ।’

विश्वभर फैलिदै गइरहेको नयाँ भेरियन्ट सहितको कोभिड १९ को सङ्क्रमण नेपालमा समेत बढ्दै गएको सन्दर्भमा सो को रोकथाम तथा नियन्त्रणको लागि सक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले आदेश जारी गर्दै भोलिबाट अर्को व्यवस्था नभएसम्मको लागि भक्तजनको लागि मन्दिर बन्द गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया