कुनै जात विशेषलाई पहिचानको मुद्दा बनाइनु हुँदैन : केपी ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जात र थर विशेषलाई पहिचानको विषय बनाउन नहुने बताएका छन् ।

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार विजय भएपछि आयोजित सभामा बोल्दै उनले सो अडान राखेका हुन् । अध्यक्ष ओलीले कोशी प्रदेश नामकरण गर्दा केही पनि नब्रिगिएको बताए । साझा नाम भएकाले कोशी प्रदेशको नामकरण गर्दा केही पनि नबिग्र्र्र्र्र्रने ओलीको तर्क थियो । उनले कोशी प्रदेशको नामकरणलाई लिएर कसैले पनि संवेदनशील बन्नुपर्ने आवश्यकता नभएको बताए ।

विगतमा पनि मेची, कोशी, कर्णाली, सेती, बागमती अञ्चलको नाम राखिएको उल्लेख गर्दै ओलीले त्यस्ता साझा नाममा असहमति राख्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे । उनले समृद्ध नेपालः सुखी नेपाली आम नेपालीको पहिचान भएको र त्यसलाई साकार पार्न एमाले लागि परेको बताए ।

अध्यक्ष ओलीले भने ‘ओली धेरैले रुचिका साथ यो निर्वाचनलार्ई हेर्नुभयो । त्यो स्वाभाविकै थियो । अनेक प्रकारका भ्रमपूर्ण कुराहरूका अभियान चलेका थिए । कोही एमाले छोडेर गएका मान्छेहरू यतै जिल्लातिरका नेताहरू एमाले हराउन बेस्सरी लागेका थिए । के हो, के हो ? भन्ने पनि पर्यो होला । कोही कोही पहिचान भनेको के हो, के हो ? के लाई पहिचान भन्ने ? हामी सबै नेपाली हौँ । पहिलो पहिचान हाम्रो त्यो हो । हामी धनी भयौँ भने धनी नेपाली, गरिब भयौ भने दुनियाँले हेप्ने गरिब नेपाली । त्यही हो पहिचान । हामीले राम्रो पढ्न, लेख्न पायौँ भने विद्वान नेपाली, पढ्न, लेख्न पाएनौ भने निरक्षर बुद्धु नेपाली । कसले टेर्छ नेपालीलाई ? हामीले व्यक्तिगत पहिचान बनाउन खोज्यौ भने त्यसले कोही सफल हुन सक्दैन ।

आज सुहाङ नेम्वाङ सफल हुनु भएको छ । एक्लै वीर भएर हो र ? तमाम जनताले साथ दिएका छन् । यत्रो कार्यकर्ता पंक्ति लागेको छ । त्यसकारण सफल हुनुभएको हो । समूहको कारणले त्यो सम्भव भएको हो । पहिचान के हो ? भन्दा सुहाङ नेम्वाङको झण्डाको, त्यो झण्डाको अर्थ के हो ? समृद्ध नेपालस् सुखी नेपाली । समृद्ध नेपालः सुखी नेपाली भनेपछि त्यहीँ हो पहिचान । पहिचानको कुरा होइन । त्यो त प्रदेशको नामको कुरा हो ।

कुनै जाति विशेषको, कुनै व्यक्ति विशेषको, कुनै थर विशेषको आदिको पहिचानको कुरा होइन प्रदेशको नाम । पहिले पनि जतिबेला बाँडिएको थियो, त्यसैगरी बाँडिएका हुन्थे । मेची अञ्चल थियो, कोशी अञ्चल थियो । त्यही थिएन र ? मेची अञ्चल थियो, कोशी अञ्चल थियो । बागमती अञ्चल थियो । गण्डकी अञ्चल थियो । नारायणी अञ्चल थियो । कर्णाली अञ्चल थियो । सेती अञ्चल थियो, महाकाली अञ्चल थियो । यस्तै न थिए अञ्चल । तसर्थ यो धेरै ठूलो कुरा होइन । यसलाई धेरै संवेदनशीले बनाउनुपर्ने केही पनि छैन । साझा नाम राख्दाखेरि केही पनि बिग्रिँदैन । साझा नाम राख्दा अघि सुहाङजीले भन्नुभएजस्तै हामी सयौँ थुङा फूलका एउटै माला नेपाली हौँ ।’

अध्यक्ष ओलीले अनेकौँ भ्रमपूर्ण कुराहरूलाई चिर्दै एमालेलाई विजयी गराएको भन्दै पार्टीका नेता, कार्यकर्तालाई धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया

One thought on “कुनै जात विशेषलाई पहिचानको मुद्दा बनाइनु हुँदैन : केपी ओली

  1. 🙏केपि बा आरामै हुनुहुन्छ ? हजुर लाई भेट्न बालकोट आउदा १२ घन्टा हजुर को घर को बाहिर उभि राखे र भोलि पल्ट पनि ,,,,,,,,,,हजुर ले मसँग भेट्न मन गर्नु भयेन ।जय नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *