समितिमा रहेका विधेयकहरूलाई छिटोभन्दा छिटो पारित गर्न सभामुख घिमिरेको निर्देशन

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिमा रहेका विधेयकहरूलाई छिटोभन्दा छिटो पारित गरेर संसदमा ल्याउन निर्देशन दिएका छन् ।

मंगलवार संसदीय समितिका सभापतिहरू र राष्ट्रिय दलका प्रमुख सचेतक तथा सचेतकहरूसँगको बैठकमा बोल्दै सभामुख घिमिरेले समितिमा रहेका विधेयकहरूलाई पारित गरेर संसदमा ल्याउन निर्देशन दिएका हुन् ।

उनले समितिमा छलफलको क्रममा रहेका विधेयकहरूलाई संसदको आगामी अधिवेशन आह्वान हुनुभन्दा अगाडी नै बैठक बसी टुंग्याउन निर्देशन दिएका छन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभामुख घिमिरेले बैठकमा समितिमा भएका विधेयकहरूको अवस्थाको बारेमा जानकारी लिएको बताए ।

उनले आगामी अधिवेशनमा संसदमा आउने अवस्थामा के कति विधेयकहरू छन् भन्ने सन्दर्भमा जानकारी लिएको र आगामी अधिवेशनमा विधेयक ल्याउनेगरी तयारीस्वरुप बैठक राखिएको बताए । सभामुख घिमिरेले आवश्यक पर्दा आगामी अधिवेशनलाई सहज रुपमा अगाडी बढाउनका लागि राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्ने पनि बताए ।

उनले भने ‘यो बैठकले समितिमा गएका विधेयकहरू छलफल कसरी भइरहेको छ ? समितिका बैठकहरू कसरी चलिरहेका छन् ? र समितिबाट विधेयक पारित भएर प्रतिवेदनको रूपबाट आउने तयारी कहाँ पुगेको छ ताकि अब आउने अधिवेशनमा हाम्रो विधेयकहरू पेस हुनसक्ने कुराको स्थिति कहाँ पुग्यो भन्नेकुराको जानकारी राख्ने, त्यसमा केही समस्याहरू छन्, समस्याको निराकरण खोज्ने, समस्या छैनन् तिनलाई बुझ्ने र आउँदो अधिवेशनको तयारी गर्ने सन्दर्भमा आयोजित बैठक थियो । स्थितिको जानकारी प्राप्त भयो । विधेयकहरू अझैपनि कतिपय छलफल भएर टुंगिएका छैनन् । तिनीहरूलाई अधिवेशन आह्वान हुनुभन्दा अगाडी नै छिटो समितिका बैठकहरू बस्ने । बनेका उपसमितिका बैठकहरूले पनि समितिलाई प्रतिवेदनहरू दिने र यसलाई छिटो टुङ्ग्याउने काममा गति दिने कुरामा छलफल र एउटा भावनात्मक वा निर्णय, निष्कर्षमा पुगेर बैठक सकिएको छ । आजपनि मैले के आव्हान गरेको छु भने हाम्रो तयारी गरौँ । अधिवेशनमा आउने अप्ठ्याराहरूलाई हल गर्नका लागि सबैले भुमिका निर्वाह गरौँ । ताकि तयारीका साथ अगाडी जान सकोस् भन्ने कुरा हो । यो पनि एउटा पहल हो । आवश्यक परेमा शीर्ष तहमा छलफल संयुक्त, अलग–अलग रुपमा गर्छु ।’

बैठकपछि अर्थ समितिका सभापति सन्तोष चालिसेले सभामुखले समितिमा रहेका विधेयकलाई चाँडोभन्दा चाँडो पारित गरेर ल्याउन निर्देशन दिएको बताए । उनले समितिको बैठक बस्दा गणपूरक संख्या नपुग्ने समस्या रहेको भन्दै समितिलाई परेका अप्ठ्याराहरूको बारेमा पनि समिति सभापतिहरूले सभामुख समक्ष राखेका जानकारी दिए । उनले आगामी बजेटमा संसदीय समितिहरूलाई पनि पर्याप्त बजेट विनियोजन गर्न ध्यानाकर्षण गराइएको पनि बताए । उनले समिति बैठकमा सांसदहरूको अनिवार्य उपस्थितिका लागि दलका सचेतकहरूलाई पनि आग्रह गरिएको बताए ।

उनले भने ‘संसदीय समितिको भुमिका कमजोर भयो । भएका विधेयकहरू आएनन् । समितिमा अड्किइरह्यो । त्यसलाई चाँडोभन्दा चाँडो समितिले छलफल गराएर निष्कर्षसहित पास गरेर ल्याउनुप¥यो भन्ने कुरा उहाँको निर्देशन भयो । हामीले के राख्यौँ भने समितिका सदस्यहरू आ–आफ्नो निर्वाचन क्षेत्रमा पनि जानु जरुरी छ । त्यहाँ जाँदा र संसद बैठकमा जाँदै गर्दा समितिमा आउनलाई समय नसकेको अवस्था छ । समिति बैठकमा कोरम नपुगेर छोड्नुपरेको अवस्था । यसलाई कसरी समाधान गर्ने ? सबै साथीहरूलाई कसरी लिएर आउने वातावरण हुन्छ त ? यसले गर्दा आज सचेतकहरूलाई पनि बोलाएर सबै पार्टीले यसमा भुमिका खेल्नुपर्यो भनेर कुरा राखेका छौँ । आगामी बजेटमा संसदीय समितिलाई पर्याप्त बजेट भएन भने धेरै कुरामा हामी अड्किएका छौँ । आगामी दिनमा यो नहोस् भनेर राखेका छौँ ।’

उनले समिति सभापतिहरूसँग सभामुखले महिनाको एकपटक बैठक बस्ने निर्णय गरिएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *