झलनाथ खनालको स्वास्थ्य अवस्था सामान्य : सचिवालय

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यस्थिति सामान्य रहेको उनको सचिवालयले जनाएको छ । सञ्चारमाध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै सचिवालय नेता खनालको स्वास्थ्य अवस्थाबारे बोलेको हो ।
उनका स्वकीय सचिव कृष्ण भट्टराईले विज्ञप्ति जारी गर्दै भनेका छन्–‘बाहिर सञ्चारमाध्यममा आएजस्तो जटिल र संवेदनशील अवस्था भने होइन ।’ यस्तै विज्ञप्तिमा नेता खनालको विगत केही समय अगाडिबाट स्वास्थ्यमा सामान्य मात्र समस्या देखा परेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा अफवाह नफैलाउन आग्रहसमेत गरिएको छ । ‘कुनै पनि व्यक्तिको स्वतन्त्रतासम्बन्धी हकअन्तर्गत स्वास्थ्यजस्तो गम्भीर संवेदनशील कुरामा सूचना सम्प्रेषण गर्नुभन्दा अगाडि परिवारसँग जानकारी लिने वा सम्बन्धित पक्षसँग सत्यतथ्य बुझ्न सबैमा सचेत गराइन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको, पार्टी कमिटीका सम्पूर्ण कार्यक्रममा सक्रियताका साथ लागिरहनुभएको हुँदा बाहिर आएको गलत सूचनाको भ्रममा नपर्न आमनागरिक, सञ्चार जगत, प्रबुद्ध समुदाय र शुभेच्छुक र शुभचिन्तक सबैमा हार्दिक आग्रह गर्दछु ।’
यसअघि नेता खनालको स्वास्थ्यलाई लिएर विभिन्न समाचारहरु आएका थिए । त्यसमा कतिपय समाचारमा त मृर्गौला प्रत्यारोपण नै गर्न लागेकोसमेत औंल्याइएका थिए ।








