इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न सांसद ओलीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले चिकित्सा शिक्षण संस्थामा अध्ययनरत इन्टर्न चिकित्सकहरूले भोग्दै आएको न्यून पारिश्रमिक र श्रम शोषणको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न सरकारसँग माग गरिन् ।

उनले सरकारी मेडिकल कलेजको तुलनामा निजी मेडिकल कलेजमा इन्टर्न चिकित्सकहरूले निकै कम भत्तामा लामो समय काम गर्नुपर्ने बाध्यता रहेको बताइन् ।

‘नेपालका विभिन्न चिकित्सा शिक्षण संस्थामा अध्ययनरत एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकलाई न्यूनतम मापदण्डभन्दा निकै कम इन्टर्नसिप भत्ता दिइएको र अत्यधिक लामो समय काम गर्न बाध्य पारिएको गुनासो निरन्तर आइरहेका छन्,’ उनले भनिन् ।

ओलीले नीतिगत कमजोरी र विद्यमान व्यवस्थाका कारण उदाउँदा चिकित्सकहरूको श्रम निरन्तर शोषण भइरहेको र त्यसकै प्रत्यक्ष परिणामस्वरूप दक्ष चिकित्सक विदेश पलायन भइरहेको बताइन् ।

‘यदि यस अवस्थालाई समयमै सम्बोधन गरिएन भने निकट भविष्यमै नेपालले चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीको गम्भीर अभावको सामना गर्नुपर्ने जोखिम बढ्दै जान्छ,’ उनले भनिन् ।

उनले विभिन्न कार्यदलले इन्टर्न चिकित्सकलाई आठौँ तहको प्रारम्भिक तलब स्केलको ५० प्रतिशत बराबर निर्वाह भत्ता उपलब्ध गराउन सिफारिस गरे पनि हालसम्म कार्यान्वयन नभएको उल्लेख गरिन् ।

‘करिब ९० दिनअघि कार्यदलको प्रतिवेदन चिकित्सा शिक्षा आयोगमा पुगे पनि आयोगले बैठक बसी आवश्यक निर्णय तथा कार्यान्वयन प्रक्रिया अघि बढाएको छैन,’ उनले भनिन् ।

ओलीले नेपालको श्रम ऐन, २०७४ अनुसार श्रमिकका लागि तोकिएको कार्यघण्टा र न्यूनतम पारिश्रमिक सुनिश्चित गरिनुपर्ने व्यवस्था इन्टर्न चिकित्सकको हकमा प्रभावकारी रूपमा लागू नभएको बताइन् । उनले समान कामका लागि समान पारिश्रमिक र मर्यादित कार्यघण्टा सुनिश्चित गर्न सरकारसँग माग गरिन् ।

सरकारले पटक–पटक आश्वासन दिए पनि ठोस पहल नगरेको भन्दै इन्टर्न चिकित्सकहरूले आउँदो शनिबारदेखि संगठनात्मक रूपमा शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेको जानकारी पनि उनले सदनलाई गराइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eight =