कर्णाली राजमार्गमा भएको दुर्घटनाबारे रमेश प्रसाईँले मागे गृहमन्त्रीको जवाफ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले कर्णाली राजमार्गमा बारम्बार भएका सवारी दुर्घटनाबारे गृहमन्त्रीको जवाफ माग गरेका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसद प्रसाईँले कर्णाली राजमार्गमा बारम्बार हुने सवारी दुर्घटनाबारे सरकारसँग जवाफ माग गरेका हुन् ।

सांसद प्रसाईँले नागरिकको जीवन रक्षा गर्ने दायित्वबाट राज्य पन्छिन नपाउने बताए । कर्णाली राजमार्गमा हुने दुर्घटनाहरूलाई राज्य र समाजले केवल समाचारको विषय मात्र बनाएको भन्दै आपत्ति प्रकट गरे ।

सांसद प्रसाईँले नागरिकको जीवनभन्दा ठुलो सम्पत्ति र प्राथमिकता राज्यको अरू हुन नसक्ने उल्लेख गर्दै हालै भएको दुर्घटनामा सरकारको उद्धार संयन्त्रको प्रभावकारितामाथि प्रश्न उठाए ।

उद्धारका क्रममा राज्यले आफ्नो सम्पूर्ण क्षमता परिचालन गरे–नगरेको र भीरमा अड्किएका नागरिकको हारगुहारका बाबजुद उद्धारमा लापरबाही भएको विषयमा सत्यतथ्य बाहिर ल्याउन उनले माग गरे ।

उनले भने ‘कुनै पनि घटना आफ्नै घरमा घट्दा मात्र त्यसको पीडाबोध हुने र अरूको घरमा घट्दा त्यो केवल समाचार मात्र बन्ने गरेको छ । दुर्भाग्यवश समाज यति असंवेदनशील भएको छ कि कर्णालीका दुर्घटनाहरू हाम्रा लागि नियमित समाचार मात्र बन्न थालेका छन् ।’

कर्णाली राजमार्गलाई सुरक्षित बनाउन र भविष्यमा यस्ता हृदयविदारक दुर्घटनाहरू दोहोरिन नदिन सरकारसँग के–कस्ता दीर्घकालीन योजनाहरू छन् भनी उनले प्रश्न गरे । नागरिकको जीवनसँग जोडिएको यस गम्भीर विषयमा सत्ता पक्ष र प्रतिपक्षभन्दा माथि उठेर सोच्नुपर्नेमा जोड दिँदै सांसद प्रसाईँले गृहमन्त्रीलाई रोष्टममा उभिएर जवाफ दिनका लागि सभामुखमार्फत तत्काल रुलिङको माग समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =